काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले झण्डै २ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९७ लाख ६२ हजार रुपैयाँ घाटा ब्यहोरेको हो ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड २४ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको आम्दानीमा सामान्य गिरावट आएको छ, भने यता सञ्चालन खर्च चुलिएको छ, जसकारण घाटा ब्यहोर्न पुगेको हो ।
तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ४.३२ प्रतिशतले घटेर ४६ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको आम्दानी ४८ करोड ९० लाख रुपैयाँ थियो ।
त्यस्तै, पोहोर ८ करोड १९ लाख रुपैयाँमा सीमित रहेको कम्पनीको सञ्चालन खर्च यस वर्ष ३८.८१ प्रतिशत बढेर ११ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इपीएस ४.२८ रुपैयाँ रहेकोमा यस अवधिसम्म आइपुग्दा ३.४९ रुपैयाँ ऋणात्मक रहेको छ । साथै कम्पनीको बुकभ्यालु १०३.७५४ रुपैयाँ, पीई रेसियो ३८९.१८ गुणा ऋणात्मक र ऋण पूँजीको अनुपात १९ प्रतिशत पुगेको छ ।

