काठमाण्डौ । सेयरबजारमा ११ सय रुपैयाँ भन्दा बढी सेयरभाउ रहेको ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिसेयर आम्दानी ९.१० रुपैयाँ ऋणात्मक अवस्थामा छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वित्तीय नै ऋणात्मक अवस्थामा देखिएको छ । तर दोस्रो बजारमा भने यस्तै कम्पनीको मूल्य उचालिएर महँगो बनाइएको हुन्छ ।
गत आवको तेस्रो त्रैमासम्ममा पनि कम्पनीको इपीएस १२.८१ रुपैयाँ ऋणात्मक नै रहेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो । गत आवको तुलनामा कम्पनीको घाटा झनै चुलिएको छ ।
यता कम्पनीको कुल आम्दानीमा भने सामान्य सुधार देखिएको छ । गत आवको तेस्रो त्रैमाससम्म १० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले चालु आवको यस अवधिसम्म १४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ ।
आम्दानी बढेपनि कम्पनीको खर्च बढेपछि घाटा चुलिएको हो । कम्पनीले सो अवधिसम्म १८ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको छ ।
यता कम्पनीको बुकभ्यालु पनि जम्मा ९७.५० रुपैयाँ रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५५.०३ रुपैयाँ रहेको छ ।
गत वर्ष मात्रै दोस्रो बजारमा सूचीकृत यस कम्पनीको कुल सूचीकृत सेयर संख्या ६० लाख कित्ता रहेको छ । कम्पनीको सेयरभाउ दोस्रो बजारमा अधिकतम २१६७ रुपैयाँसम्म पुगेको थियो ।

