काठमाण्डौ । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनी ले सरकार र निजी क्षेत्रबीच सहकार्य र विश्वासको वातावरण निर्माण नगरी अर्थतन्त्र चलाउन नसकिने बताएका छन्।
उनले आगामी बजेटले साना, मझौला र ठूला उद्योग सबैलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने धारणा राखे। “काम गर्नेलाई प्रोत्साहन गर्ने अर्थनीति आवश्यक छ,” उनले भने।
लोहनीले कृषि क्षेत्रलाई अनुदानमार्फत बलियो बनाउनुपर्ने र नेपाली कृषि उपजको भारतीय बजारमा पहुँच विस्तार गर्न आर्थिक कूटनीति अघि बढाउनुपर्ने सुझाव दिए।
उनले सरकारी संयन्त्रमा दण्ड र पुरस्कार प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए। निजी क्षेत्रमा गएको लगानीको पारदर्शिता र प्रतिफलको समीक्षा गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
उनका अनुसार स्थिर सरकार, स्पष्ट नीति र लगानीमैत्री वातावरणबिना निजी क्षेत्रले आत्मविश्वास पाउन सक्दैन।

