काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण र आगामी रणनीतिबारे छलफल गर्न आज धनगढीमा सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको महत्वपूर्ण बैठक शुरू भएको छ।
प्रदेशको वर्तमान राजनीतिक अवस्था, सत्ता–प्रतिपक्ष सम्बन्ध तथा भावी कार्यदिशा निर्धारणका लागि आयोजना गरिएको यस बैठकमा राष्ट्रिय स्तरका शीर्ष नेताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
धनगढीस्थित एक होटलमा जारी बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयेजक माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा नेता भीम रावल लगायतका नेताहरू उपस्थित रहेका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच पछिल्लो समय विकसित राजनीतिक सहकार्य तथा सम्भावित एकता प्रक्रियापछि प्रदेशस्तरमा पहिलो पटक यति उच्चस्तरीय संयुक्त बैठक बसेको हो।
यसले सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक शक्ति सन्तुलन निर्माण हुने संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।
बैठकमा मुख्य रूपमा प्रदेशसभामा रहेका राजनीतिक दलहरूको भूमिका, संसदीय गतिविधि र रणनीति कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भइरहेको छ।
साथै, सत्तापक्ष र विपक्षसँगको सम्बन्ध व्यवस्थापन, साझा राजनीतिक एजेन्डा निर्माण तथा आगामी नीति तथा कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि गहन छलफल भइरहेको जनाइएको छ।
यसैगरी, प्रदेश सरकारको हालको कार्यशैली, विकास निर्माणका परियोजना, जनताका समस्या तथा स्थानीय स्तरका मुद्दाहरूको समाधानमा देखिएको प्रगतिबारे समेत समीक्षा भइरहेको बताइएको छ।
नेताहरूले प्रदेशको समग्र राजनीतिक वातावरण र स्थायित्वबारे पनि आ–आफ्ना धारणा राखिरहेका छन्।
शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुनु आफैंमा राजनीतिक रूपमा महत्वपूर्ण घटनाका रूपमा लिइएको छ।
विशेषगरी प्रचण्ड, माधव नेपाल र भीम रावल एउटै छलफलमा सहभागी हुनुलाई वामपन्थी शक्तिहरूबीचको सम्भावित नजिकिन र सहकार्यको संकेतका रूपमा व्याख्या गरिएको छ।
बैठकमा सहभागी नेताहरूले प्रदेशसभामा साझा धारणा बनाएर अघि बढ्ने, जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्ने र संगठनात्मक एकतालाई थप मजबुत बनाउने विषयमा जोड दिएका छन्।
यसले प्रदेशस्तरमा दलहरूको सहकार्यलाई नयाँ दिशामा लैजान सक्ने अपेक्षा गरिएको छ।
नागरिक उन्मुक्ति पार्टीसँगको सहकार्यपछि सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण बन्न सक्ने चर्चाबीच भएको यो बैठकलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ।
आगामी दिनमा प्रदेश सरकारको स्थायित्व, सम्भावित सत्ता समायोजन तथा संसदभित्र शक्ति सन्तुलनमा यस बैठकको प्रभाव पर्न सक्ने आकलन गरिएको छ।
बैठकबाट प्रदेशसभामा संयुक्त राजनीतिक रणनीति, संसदीय गतिविधिको समन्वय तथा आगामी राजनीतिक कार्यक्रमबारे साझा निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।
साथै, संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र जनसम्बन्ध विस्तारका विषयमा पनि नेताहरूबीच छलफल जारी रहेको स्रोतले जनाएको छ।

