काठमाण्डौ । नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा विस्तार भए पनि संरचनात्मक असन्तुलन अझै गहिरिएको देखिएको छ। भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल वैदेशिक व्यापार करिब १४.७५ प्रतिशतले वृद्धि भई १९ खर्ब ४१ अर्ब रुपैयाँ नाघेको छ।
व्यापार विस्तारको प्रमुख चालक आयात नै रहेको तथ्याङ्कले देखाउँछ। सो अवधिमा आयात १४.८२ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।
यता निर्याततर्फ पनि सुधार देखिए पनि आकारमा उल्लेख्य परिवर्तन आउन सकेको छैन। निर्यात १४.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। कृषि उत्पादन, हस्तकला तथा केही औद्योगिक वस्तुहरूको निर्यातमा सुधार भए पनि कुल व्यापार संरचनामा यसको योगदान सीमित नै छ।
आयात र निर्यातबीचको ठूलो अन्तरका कारण मुलुकको व्यापार घाटा अझै उच्च स्तरमा पुगेको छ। सो अवधिमा व्यापार घाटा करिब १४.९२ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
भन्सार तथ्याङ्क अनुसार नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७ प्रतिशतभन्दा बढी पुगेको छ भने निर्यातको हिस्सा करिब १३ प्रतिशतमा सीमित छ। आयात–निर्यात अनुपात १ः६.८ रहेको छ, जसले नेपालले निर्यातको तुलनामा झण्डै सात गुणा बढी आयात गर्ने अवस्था देखाउँछ।

