काठमाण्डौं । लगातारको वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने मोटरेबल पुलमा क्षति पुर्याएपछि दुई जिल्लाबीचको यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
बाढीका कारण पुलको एक भाग भत्किँदा स्थानीय तथा लामो दूरीका सवारीसाधन सञ्चालन ठप्प बनेका छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्ने उद्देश्यले निर्माण गरिएको मोटरेबल पुलमा शुक्रबार राति आएको बाढीले क्षति पुर्याएको हो ।
स्थानीयका अनुसार इन्द्रावती खोलामा पानीको बहाव अचानक बढेपछि पुलको साब्लाखुतर्फको भागमा ठूलो असर पुगेको हो ।
स्थानीयवासी सञ्जय पन्दाकका अनुसार बाढीले पुलको पक्की संरचनाबाहिरको करिब छ मिटर क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ ।
पुलको जीप मार्ग भासिँदा तथा संरचनाको जोडिने भाग कमजोर बन्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए ।
उनका अनुसार पुलको मुख्य पक्की संरचनासमेत जोखिममा परेकाले थप क्षति हुन सक्ने चिन्ता बढेको छ ।
पुल क्षतिग्रस्त भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रसँगै सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका सवारी सेवा प्रभावित भएका छन् ।
सडक सम्पर्क अवरुद्ध हुँदा स्थानीय बासिन्दाको दैनिक आवतजावत, बजार पहुँच र आपूर्ति प्रणालीमा समेत असर परेको छ ।
सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) का अनुसार पुलमा क्षति पुगेपछि गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ जाने तथा पाँचथर, इलाम हुँदै अन्य जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
त्यस्तै, सिदिङ्वा क्षेत्रमा प्रवेश गर्ने यात्रु तथा मालवाहक सवारी पनि पाँचथरतर्फ नै रोकिएको जानकारी उनले दिइन् ।
स्थानीय तहका जनप्रतिनिधिका अनुसार शुक्रबार साँझपछि इन्द्रावती खोलाको माथिल्लो भेगमा भारी वर्षा भएको थियो ।
सोही वर्षापछि खोलामा आएको बाढीले पुलमा क्षति पुर्याएको अनुमान गरिएको छ ।
हालसम्म पुलबाहेक अन्य भौतिक संरचना वा बस्ती क्षेत्रमा क्षति पुगे–नपुगेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
घटनापछि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायले क्षतिको प्रारम्भिक मूल्याङ्कन सुरु गरेका छन् ।
वैकल्पिक यातायात व्यवस्था तथा पुल मर्मतसम्भारबारे छलफल भइरहेको जनाइएको छ ।
पुल सञ्चालनमा नआएसम्म सिदिङ्वा क्षेत्रको यातायात तथा ढुवानी सेवा प्रभावित रहने देखिएको छ ।

