काठमाण्डौं । निरन्तरको वर्षासँगै उत्पन्न बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा गम्भीर मानवीय तथा भौतिक संकट सिर्जना गरेको छ ।
विपद्ले बस्ती मात्र नभई पूर्वाधार, कृषि उत्पादन र ऊर्जा क्षेत्रमा समेत व्यापक असर पारेपछि स्थानीय जीवन अस्तव्यस्त बनेको छ ।
प्रहरी विवरणअनुसार याङवरक–१ मा गएको पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार मोहनलाल खवास, कबिर खवास र गङ्गाप्रसाद बेघाको परिवार घरविहीन बनेका हुन् भने जोखिममा परेको भगीमान बेघाको परिवार पनि सुरक्षित स्थानमा सारिएको छ ।
हाल प्रभावित परिवारहरू आफन्तको सहारामा अस्थायी बसोबास गरिरहेका छन् ।
लगातारको वर्षाले याङवरकका विभिन्न बस्तीमा जोखिमको दायरा बढाएको छ ।
कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल र खोलाघारी मगरडाँडा क्षेत्रमा करिब दुई दर्जन घर उच्च जोखिममा रहेकाले थप विस्थापनको सम्भावना बढेको स्थानीयहरूले बताएका छन् ।
विपद्को प्रभाव पूर्वाधारमा पनि गहिरो देखिएको छ । लामिटार–चाम्लिङडाँडा र दोभाने क्षेत्रमा रहेका झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनाएको छ भने केही संरचना आंशिक रूपमा बगाएको छ ।
यसले स्थानीय आवतजावतमा थप कठिनाइ उत्पन्न गरेको छ । सडक सञ्जालमा समेत ठूलो असर परेको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक–२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन सडक पुल, डाइभर्सन र पहुँच मार्ग बाढीले बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।
यस्तै, तमोर करिडोरअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलका संरचना र निर्माण सामग्रीसमेत नष्ट भएका छन् ।
पहिरो र बाढीका कारण मध्यपहाडी राजमार्गको ओयाम बजार तथा रिजाल भिर खण्डमा समेत यातायात ठप्प भएको छ, जसले स्थानीय तथा बाह्य आवागमनलाई पूर्ण रूपमा प्रभावित पारेको छ ।
ऊर्जा क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । मेवाखोला, इवाखोला र अरुण–काबेली जलविद्युत् आयोजनाका संरचनामा क्षति हुँदा निर्माण तथा उत्पादन कार्य प्रभावित भएको छ ।
यसले क्षेत्रीय ऊर्जा आपूर्तिमा समेत अस्थायी असर पार्ने देखिएको छ ।
कृषि क्षेत्रमा स्थानीयको मुख्य नगदे बाली अलैँचीसहित खेतीयोग्य जमिनमा बाढी पसेपछि ठूलो आर्थिक क्षति भएको छ ।
सिगेवा क्षेत्रमा व्यापक रूपमा बाली नष्ट भएको स्थानीय किसानहरूले बताएका छन् ।
खानेपानी र सिँचाइ पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ ।
प्रशासनका अनुसार अझै वर्षा जारी रहेकाले थप पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

