काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको प्रबन्ध सञ्चालक पद रिक्त भएको जानकारी गराएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालयमा जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन प्रबन्ध सञ्चालक तथा सञ्चालक रोमन दंगाल र सञ्चालक रेनुका पाण्डेको कार्यकाल समाप्त भएको जनाएको छ। यससँगै हाल कम्पनीमा प्रबन्ध सञ्चालक पद रिक्त रहेको स्पष्ट गरिएको छ।
यसअघि गत बैशाख २७ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट रेनुका पाण्डे र प्राप्ति अधिकारी सर्वसम्मत रूपमा सञ्चालक पदमा निर्वाचित भएका थिए । सञ्चालक समितिको निर्णयअनुसार, प्रबन्ध सञ्चालक पदमा नयाँ व्यवस्था नभएसम्मका लागि कम्पनीको सम्पूर्ण व्यवस्थापन, सञ्चालन तथा कार्यकारी जिम्मेवारी कम्पनीका अध्यक्ष नवीन सिलवालमा निहित रहने व्यवस्था गरिएको छ।

