काठमाण्डौँ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा बर्ड फ्लु संक्रमण देखिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ पुष्टि भएपछि नगरपालिकाले प्रभावित क्षेत्रलाई निगरानीमा राख्दै संक्रमण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण फेला परेको हो ।
संक्रमण फैलिन नदिन ती क्षेत्रमा रहेका कुखुरा, हाँस, बट्टाई, लौकाटलगायत पन्छी, अण्डा तथा दाना नष्ट गर्ने काम शुरु गरिएको छ ।
संक्रमित पन्छी तथा सामग्रीलाई सुरक्षित रूपमा व्यवस्थापन गरी खाल्डोमा गाड्ने कार्य भइरहेको जनाइएको छ ।
नगरपालिकाले प्रभावित क्षेत्रका खोर तथा आसपासका स्थानमा निसंक्रमण अभियान समेत तीव्र पारेको छ ।
पशु सेवा प्राविधिक टोली परिचालन गरेर खोर, उपकरण तथा पन्छी राखिने क्षेत्रहरूमा औषधि छर्कने काम भइरहेको बताइएको छ ।
संक्रमण नियन्त्रणका लागि पन्छी फार्महरूमा कडा निगरानी लागू गरिएको छ ।
अनावश्यक व्यक्ति तथा सवारी साधनलाई फार्म क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने अत्यावश्यक अवस्थामा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
कृषकहरूलाई एक फार्मबाट अर्को फार्ममा सामग्री लैजान रोक लगाइएको छ ।
विशेषगरी अण्डा बोक्ने क्रेट, दाना राख्ने भाँडा तथा अन्य उपकरण पुनः प्रयोग गर्दा संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।
नगरपालिकाले खोरभित्र प्रवेश गर्दा छुट्टै बुट, एप्रोन र सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा नियमित रूपमा खोर सफा गरी निसंक्रमण गर्न निर्देशन दिएको छ ।
फार्म प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधिसहितको फुटबाथ राख्न पनि भनिएको छ ।
यसैबीच, कुकुर, बिरालो, मुसालगायत जनावरलाई फार्म क्षेत्रमा प्रवेश गर्न नदिन कृषकलाई आग्रह गरिएको छ ।
मरेका पन्छीहरू खुला रूपमा फाल्दा संक्रमण फैलन सक्ने भएकाले सुरक्षित रूपमा गाड्न नगरपालिकाले अनुरोध गरेको छ ।
पन्छीजन्य वस्तुको ढुवानीमा पनि कडाइ गरिएको छ ।
अब कुखुरा, अण्डा तथा अन्य पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
साथै, सर्वसाधारणलाई मासु तथा अण्डाजन्य परिकार राम्रोसँग पकाएर मात्रै सेवन गर्न सुझाव दिइएको छ ।
यदि कुनै क्षेत्रमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिए तत्काल पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन अपिल गरिएको छ ।
नेपालमा समय–समयमा बर्ड फ्लु संक्रमण देखिँदै आएको छ ।
यसले कुखुरा व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याउने मात्र होइन, जनस्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्ने भएकाले विज्ञहरूले जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

