काठमाण्डौ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशको पेट्रोलियम आपूर्ति संरचना क्रमशः सुधार भए पनि इन्धन खपतमा गिरावट देखिएको छ।
सर्वेक्षणअनुसार हाल नेपालमा पेट्रोलको भण्डारण क्षमता करिब १४ दिन र डिजेलको १६ दिनको माग धान्न पर्याप्त रहेको छ। यस्तै, मट्टीतेलको भण्डारण क्षमता भने उल्लेख्य रूपमा बढी भई करिब १४५ दिनसम्म पुग्ने देखिएको छ।
एलपीजी बाहेक देशभर पेट्रोलियम पदार्थ भण्डारण गर्ने कुल क्षमता १ लाख २ हजार २ सय ८१ किलोलिटर रहेको सरकारी तथ्यांकमा उल्लेख छ।
चालु आर्थिक वर्षको फागुनसम्म पेट्रोलियम पदार्थको आयात तथा बिक्री परिमाणमा कमी आएको छ। सरकारले यसको प्रमुख कारणका रूपमा विद्युत खपतको हिस्सा बढ्दै जानुलाई औँल्याएको छ। विद्युत उपयोग विस्तारसँगै पेट्रोलियम इन्धनमा निर्भरता घट्दै गएको सर्वेक्षणले देखाएको छ।

