काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्न थालेको नयाँ ‘एयरफोर्स वान’ विमानको सुरक्षा कमजोरीबारे समाचार प्रकाशित गरेपछि अमेरिकी न्याय विभागले ‘द न्युयोर्क टाइम्स’का चार पत्रकारलाई संघीय ग्रान्ड जुरीसमक्ष उपस्थित हुन समन जारी गरेको छ।
समन पाउने पत्रकारमा जुलियन ई. बार्न्स, एरिक लिप्टन, टाइलर पेजर र एरिक स्मिट छन्। उनीहरूलाई बुधबार म्यानहटनस्थित संघीय ग्रान्ड जुरीसमक्ष उपस्थित भएर बयान दिन भनिएको छ। केही पत्रकारको घरमै संघीय एजेन्ट पुगेर समन बुझाइएको न्युयोर्क टाइम्सले जनाएको छ।
पत्रकारहरूले राष्ट्रपति ट्रम्पको नयाँ विमानमा मिसाइल प्रतिरोधी प्रणालीलगायत पुराना एयरफोर्स वानमा रहेका केही अत्याधुनिक सुरक्षा सुविधा नभएको दाबी गर्दै समाचार लेखेका थिए। समाचारमा नाम नखुलाइएका सरकारी तथा सुरक्षा स्रोतहरूलाई उद्धृत गरिएको थियो।
समाचार प्रकाशन हुनुअघि अमेरिकी संघीय अनुसन्धान ब्युरो–एफबीआईका एक वरिष्ठ अधिकारीले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै समाचार रोक्न न्युयोर्क टाइम्सलाई आग्रह गरेका थिए। तर, त्यसको स्पष्ट आधार दिन नसकेको र समाचारको स्रोत खुलाउनसमेत आग्रह गरिएको भन्दै पत्रिकाले समाचार प्रकाशन रोकेको थिएन।
विवादको केन्द्रमा रहेको बोइङ ७४७–८ विमान कतारले अमेरिकालाई उपलब्ध गराएको हो। करिब ४० करोड अमेरिकी डलर मूल्यको भनिएको उक्त विमानलाई अमेरिकी सरकारले थप सुरक्षा तथा प्राविधिक स्तरोन्नति गरेर राष्ट्रपतिको विमानका रूपमा सञ्चालनमा ल्याएको थियो।
ट्रम्पले जुलाई १ मा उत्तर डकोटा जाँदा यो विमानबाट पहिलो औपचारिक उडान गरेका थिए। त्यसपछि उनी जुलाई ७ मा टर्कीमा आयोजित नेटो शिखर सम्मेलनमा पनि यही विमान चढेर पुगेका थिए।
तर, टर्कीबाट फर्कने क्रममा ट्रम्प नयाँ विमानमा सीधै अमेरिका नफर्किएर पुरानो एयरफोर्स वानमा बेलायतको मिल्डेनहलस्थित सैन्य अखडासम्म पुगेका थिए। नयाँ विमान पनि सँगसँगै बेलायत पुगेपछि ट्रम्प त्यहाँबाट पुनः नयाँ विमानमा चढेर अमेरिका फर्किएका थिए।
इरानसँगको युद्धविराम भंग भएर क्षेत्रीय तनाव चर्किरहेका बेला अचानक विमान परिवर्तन गरिएपछि नयाँ एयरफोर्स वानको सुरक्षा क्षमतामाथि प्रश्न उठेको थियो। न्युयोर्क टाइम्सले अमेरिकी गुप्त सेवा ‘सिक्रेट सर्भिस’को सुझावमा ट्रम्पलाई पुरानो विमानमा सारिएको र नयाँ विमानमा मिसाइल प्रतिरोधीलगायत केही महत्त्वपूर्ण सुरक्षा प्रणाली नभएको समाचार प्रकाशित गरेको थियो।
ट्रम्प र ह्वाइट हाउसले भने विमानमा सुरक्षा कमजोरी रहेको दाबी अस्वीकार गरेका छन्। ह्वाइट हाउसले उक्त विमान अत्याधुनिक भएको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रणाली जडान गरिएको दाबी गरेको छ।
समाचार प्रकाशनपछि न्याय विभागले पत्रकारहरूलाई समन जारी गरेको घटनाले अमेरिकामा प्रेस स्वतन्त्रता र पत्रकारले आफ्ना गोप्य स्रोतको संरक्षण गर्न पाउने अधिकारबारे गम्भीर बहस सुरु भएको छ।
न्युयोर्क टाइम्सका कानुनी सल्लाहकार डेभिड म्याकक्रले पत्रकारको घरमै संघीय एजेन्ट पुग्नु अमेरिकी संविधान र प्रेस स्वतन्त्रतामा विश्वास गर्ने सबैका लागि चिन्ताजनक विषय भएको बताएका छन्।
नेसनल प्रेस क्लबले पनि न्याय विभागको कदमको विरोध गर्दै समन तत्काल फिर्ता लिन माग गरेको छ। क्लबले पत्रकारलाई समन जारी गर्ने निर्णयले स्वतन्त्र प्रेससम्बन्धी अमेरिकी नागरिकको संवैधानिक अधिकारमाथि खतरा सिर्जना गरेको बताएको छ।
अमेरिकी न्याय विभागले भने अनुसन्धानको मुख्य निशाना पत्रकार नभएको स्पष्टीकरण दिएको छ। विभागका अनुसार राष्ट्रिय सुरक्षासँग सम्बन्धित वर्गीकृत तथा गोप्य सूचना सञ्चारमाध्यमलाई चुहाउने सरकारी कर्मचारी पत्ता लगाउन अनुसन्धान भइरहेको हो।
न्याय विभागले पत्रकारिताको भूमिकालाई आफूले सम्मान गर्ने भए पनि राष्ट्रिय गोपनीयताको जिम्मेवारी पाएका कर्मचारीले वर्गीकृत सूचना अनधिकृत रूपमा सार्वजनिक गरेको विषयलाई बेवास्ता गर्न नसकिने बताएको छ।
ट्रम्प प्रशासनले पत्रकारलाई यसरी बयानका लागि दबाब दिएको यो पहिलो घटना होइन। यसअघि ‘द वालस्ट्रिट जर्नल’ र ‘द वासिङ्टन पोस्ट’का पत्रकारलाई समेत राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चुहावट अनुसन्धानका क्रममा समन जारी गरिएको थियो। सम्बन्धित सञ्चारमाध्यमले अदालतमा चुनौती दिएपछि ती समन पछि फिर्ता लिइएका थिए।

