काठमाण्डौं । देशभर मौसममा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहने भएको छ ।
पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण बिहीबार पनि विभिन्न क्षेत्रमा वर्षा, हुरी तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हुरीसहित हल्का वर्षा भएको थियो ।
यही मौसमी प्रणालीको प्रभाव आज पनि जारी रहने अनुमान गरिएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मीको प्रभाव कायमै रहने अनुमान छ ।
ती क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही तराई तथा पहाडी क्षेत्रमा साथै अन्य प्रदेशका तराई भू–भागका थोरै स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

