काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
बजेट प्रस्तुत गर्नुअघि दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। उक्त बैठकले बजेटलाई अन्तिम स्वीकृति दिएपछि अर्थमन्त्री वाग्लेले संसदमा बजेट भाषणमार्फत सरकारको आगामी आर्थिक नीति, कार्यक्रम र खर्चको प्राथमिकता सार्वजनिक गर्नेछन्।
यस वर्षको बजेट सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने, रोजगारी सिर्जना गर्ने तथा उत्पादन र लगानी अभिवृद्धिलाई केन्द्रमा राखेर ल्याइने अपेक्षा गरिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार कर संरचनामा केही सुधार, पर्यटन पूर्वाधार, कृषि आधुनिकीकरण, ऊर्जा, सूचना प्रविधि तथा निजी क्षेत्रमैत्री कार्यक्रमहरू बजेटका प्रमुख आकर्षण हुन सक्नेछन्।
पछिल्ला केही वर्षदेखि पुँजीगत खर्च कमजोर, निजी लगानी सुस्त, बैंकिङ प्रणालीमा अधिक तरलता र बजारमा माग खस्किएको अवस्थामा आउन लागेको यो बजेटलाई अर्थतन्त्र पुनरुत्थानको ‘रोडम्याप’ का रूपमा हेरिएको छ।
सरकारले चालु खर्च नियन्त्रण गर्दै विकास निर्माण र उत्पादनमूलक क्षेत्रमा बढी स्रोत केन्द्रित गर्ने संकेत दिइरहेका बेला व्यवसायी, लगानीकर्ता, कर्मचारी, बैंकिङ क्षेत्र र सर्वसाधारणको चासो आजको बजेटतर्फ केन्द्रित भएको छ।

