सोमबार, असार २९,२०८३ 10:07:39
Bizshala
  • सोमबार, असार २९,२०८३ 10:07:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टाइम फर्माको ५०० रुपैयाँ ‘कटअफ’मा चलखेलको आशंका, प्रिआईपीओ लगानीकर्ता जोडिएका फण्डले नै महँगो बोली लगाए !

Laxmi Sunrise Bank Limited
टाइम फर्माको ५०० रुपैयाँ ‘कटअफ’मा चलखेलको आशंका, प्रिआईपीओ लगानीकर्ता जोडिएका फण्डले नै महँगो बोली लगाए !

काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा रहेको टाइम फर्मास्युटिकल्स लिमिटेडको प्रतिकित्ता ‘कटअफ’ मूल्य ५०० रुपैयाँ कायम भएको छ। यही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणले कम्पनीको आईपीओ प्रतिकित्ता ४५० रुपैयाँमा खरिद गर्नुपर्नेछ।

तर योग्य संस्थागत लगानीकर्ताबीच भएको मूल्य निर्धारण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। बिजशालालाई प्राप्त केही कागजातले कम्पनीको प्रिआईपीओमा लगानी गरेका व्यक्ति तथा संस्थासँग सम्बन्ध देखिने केही योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता ५०० रुपैयाँभन्दा माथि बोलकबोल गरेको संकेत गरेका छन्।

प्राप्त कागजातको आधिकारिकता र ती संस्थाबीचको वास्तविक स्वामित्व तथा व्यावसायिक सम्बन्ध भने जाँचकै क्रममा छ।  

यदि कम्पनीको प्रिआईपीओ सेयर सस्तो मूल्यमा लिएका व्यक्ति वा संस्थासँग सम्बन्धित फण्डले सर्वसाधारणबाट संकलित रकम प्रयोग गरी उच्च मूल्यमा बोलकबोल गरेका हुन् भने यसले बुक बिल्डिङको मूल्य खोजी प्रक्रियामै स्वार्थको द्वन्द्व सिर्जना गर्न सक्छ।

New Office
CG Motors
Garima Development Bank

मूल्य खोज्ने कि पहिलेका लगानीकर्ताको मूल्य बढाउने ?

बुक बिल्डिङको मूल उद्देश्य कम्पनी र सर्वसाधारणबीच निष्पक्ष मूल्य निर्धारण गर्नु हो। योग्य संस्थागत लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, भविष्यको सम्भावना, उद्योगको जोखिम र मूल्यांकनका आधारमा प्रतिस्पर्धी बोलकबोल गर्नुपर्ने हुन्छ।

तर मूल्य निर्धारण गर्ने संस्थागत लगानीकर्ता नै कम्पनीको प्रिआईपीओ लगानीकर्ता, उनीहरूसँग सम्बन्धित कम्पनी वा समान लाभग्राही स्वामित्व भएका संस्था भए प्रश्न उठ्छ: बोली स्वतन्त्र मूल्यांकनका आधारमा लगाइएको हो कि पहिले गरिएको लगानीको मूल्य बढाउने उद्देश्यले ?

कटअफ मूल्य जति माथि पुग्छ, सर्वसाधारणले तिर्नुपर्ने मूल्य त्यति नै बढ्छ। साथै कम मूल्यमा प्रिआईपीओ सेयर लिएका विद्यमान लगानीकर्ताको कागजी सम्पत्तिसमेत त्यही अनुपातमा उकासिन्छ।

यही कारण योग्य संस्थागत लगानीकर्ता र निष्कासन गर्ने कम्पनीबीच स्वार्थको द्वन्द्व छ कि छैन भन्ने विषय बुक बिल्डिङ प्रक्रियाको केन्द्रमा रहन्छ।

नेपाल धितोपत्र बोर्डको बुक बिल्डिङ निर्देशिकाले कम्पनीसँग स्वार्थको द्वन्द्व भएको योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रक्रियामा सहभागी हुन रोक लगाएको छ।

त्यसैले अब जाँच गर्नुपर्ने मुख्य विषय बोलपत्र दिने संस्थाको नाम मात्र होइन। ती संस्थाका प्रवर्द्धक, सञ्चालक, वास्तविक लाभग्राही, लगानी व्यवस्थापक तथा टाइम फर्मास्युटिकल्सका प्रिआईपीओ लगानीकर्ताबीच प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध थियो कि थिएन भन्ने हो।

जनताको पैसा प्रयोग गरी निजी लाभ बढाइएको हो ?

आरोपको अर्को संवेदनशील पक्ष सार्वजनिक फण्डको प्रयोगसँग जोडिएको छ।

म्युचुअल फण्ड, बीमा कम्पनी तथा अन्य संस्थागत कोषले ठूलो संख्यामा सर्वसाधारणबाट रकम संकलन गरेका हुन्छन्। उनीहरूले गरेको लगानी व्यक्तिगत पैसा नभई हजारौँ इकाइधनी, बीमित वा बचतकर्ताको सामूहिक सम्पत्ति हो।

त्यस्तो रकम प्रयोग गरी कुनै कम्पनीको आईपीओमा बोलकबोल गर्दा लगानी निर्णय स्वतन्त्र अध्ययन, उचित मूल्यांकन र फण्डको हितमा भएको पुष्टि हुनुपर्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर प्रिआईपीओ लगानीकर्तासँग सम्बन्धित व्यक्ति स्वयं फण्ड व्यवस्थापन, सञ्चालक समिति वा लगानी निर्णयमा प्रभाव पार्ने स्थानमा रहेको र त्यही फण्डले उच्च मूल्यको बोली लगाएको पाइएमा दोहोरो स्वार्थको प्रश्न उठ्छ।

एकातर्फ उच्च मूल्यले पहिलेको निजी लगानीको कागजी मूल्य बढाउने र अर्कोतर्फ जोखिमचाहिँ सर्वसाधारणको फण्डले बोक्ने अवस्था बनेको हो भने त्यो सामान्य लगानी निर्णय मात्र मान्न सकिँदैन।

यस्तो आशंका पुष्टि वा खण्डन गर्न सम्बन्धित संस्थाले बोलकबोल गर्नुअघि तयार गरेको मूल्यांकन प्रतिवेदन, लगानी समितिको निर्णय, सञ्चालक समितिको स्वीकृति र सम्भावित स्वार्थको द्वन्द्वसम्बन्धी घोषणा सार्वजनिक गर्नुपर्ने देखिन्छ।

५०० रुपैयाँको मूल्य वित्तीय सूचकसँग कति मेल खान्छ ?

सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म टाइम फर्मास्युटिकल्सको प्रतिसेयर नेटवर्थ १६७.५१ रुपैयाँ र प्रतिसेयर आम्दानी १०.२३ रुपैयाँ छ। सञ्चित नाफा २२ करोड ८२ लाख रुपैयाँ रहेको जनाइएको छ।

यी सूचकलाई आधार मान्दा संस्थागत लगानीकर्ताले कायम गरेको ५०० रुपैयाँको कटअफ मूल्य कम्पनीको नेटवर्थको करिब २.९८ गुणा हो। उक्त मूल्यमा मूल्यआम्दानी अनुपात अर्थात् पीई करिब ४८.९ गुणा पर्छ।

सर्वसाधारणका लागि प्रस्तावित ४५० रुपैयाँको मूल्यसमेत नेटवर्थको करिब २.६९ गुणा र वार्षिक प्रतिसेयर आम्दानीको करिब ४४ गुणा हो।

यसको अर्थ कम्पनी अनिवार्य रूपमा महँगो वा खराब लगानी हो भन्ने होइन। औषधि उद्योगको सम्भावना, भावी नाफा वृद्धि, उत्पादन क्षमता, निर्यात तथा नयाँ उत्पादनलाई समेत मूल्यांकनमा समावेश गर्न सकिन्छ।

तर यति उच्च मूल्यआम्दानी अनुपातमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न खोजिँदा यसको आधार विस्तृत र विश्वसनीय हुनुपर्छ। भविष्यको नाफा प्रक्षेपण, त्यसका मान्यता, सम्भावित जोखिम र बोलकबोल गर्ने संस्थाको मूल्यांकन प्रतिवेदन पारदर्शी नभएसम्म ४५० रुपैयाँको मूल्यमा प्रश्न उठ्नु स्वाभाविक हुन्छ।

४४ संस्थाले दिए आशयपत्र

कम्पनीले कुल १० लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

असार २२ देखि २६ गतेसम्म भएको बोलकबोलमा ४४ योग्य संस्थागत लगानीकर्ताले आशयपत्र दिएको र त्यसबाट प्रतिकित्ता ५०० रुपैयाँ कटअफ मूल्य कायम भएको विवरण सार्वजनिक भएको छ। सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

न्यूनतम ५० कित्ता आवेदन गर्दा एक सर्वसाधारण लगानीकर्ताले कम्तीमा २२ हजार ५०० रुपैयाँ जुटाउनुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सम्पूर्ण सेयर ४५० रुपैयाँमा बिक्री गर्दा करिब २९ करोड ३३ लाख रुपैयाँ संकलन हुनेछ। त्यसैले कटअफ मूल्यको प्रत्येक रुपैयाँले कम्पनीले उठाउने रकम र सर्वसाधारणले बोक्ने जोखिम दुवैमा प्रत्यक्ष प्रभाव पार्छ।

६०० रुपैयाँको आधार मूल्य, कटअफ कसरी ५०० ?

यस प्रकरणमा अर्को महत्वपूर्ण विसंगति पनि देखिएको छ।

कम्पनीको रोड शोसम्बन्धी सार्वजनिक विवरणमा विभिन्न मूल्यांकन विधिबाट प्रतिसेयर औसत मूल्य ६६६.७८ रुपैयाँ निकालिएको र योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको उल्लेख थियो।

तर पछिल्लो विवरणमा कटअफ मूल्य ५०० रुपैयाँ कायम भएको बताइएको छ।

आधार मूल्य वास्तवमै ६०० रुपैयाँ थियो भने त्यसभन्दा कम ५०० रुपैयाँ कटअफ कसरी कायम भयो भन्ने विषयमा कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ र नेप्सेले स्पष्ट पार्नुपर्ने देखिन्छ।

अघिल्लो विवरण गलत थियो, मूल्य सीमा संशोधन गरिएको थियो वा ‘आधार मूल्य’ र बोलकबोल सीमाबारे फरक व्यवस्था थियो-जे भए पनि सर्वसाधारणलाई आईपीओ बिक्री गर्नुअघि यसको स्पष्ट आधिकारिक जवाफ आउनुपर्छ।

नियामकले के जाँच्नुपर्छ ?

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सर्वसाधारणका लागि आईपीओ निष्कासनको स्वीकृति दिनुअघि बोलकबोल गर्ने ४४ वटै योग्य संस्थागत लगानीकर्ताको वास्तविक लाभग्राही स्वामित्व हेर्नुपर्ने देखिन्छ।

ती संस्थामध्ये कसैले टाइम फर्मास्युटिकल्सको प्रिआईपीओ सेयर लिएका व्यक्ति वा संस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्छन् कि राख्दैनन् भन्ने परीक्षण आवश्यक छ।

यसैगरी उच्च मूल्यमा बोली लगाउने फण्डको लगानी निर्णय कसले गरेको थियो, कस्तो मूल्यांकन गरिएको थियो, बैठकमा सम्भावित स्वार्थ भएका पदाधिकारी सहभागी थिए कि थिएनन् र स्वार्थको द्वन्द्व घोषणा गरिएको थियो कि थिएन भन्ने तथ्य पनि जाँचिनुपर्छ।

बोलपत्रको मूल्य तथा परिमाण अस्वाभाविक रूपमा निश्चित मूल्य वरिपरि केन्द्रित थियो कि थिएन, एउटै समूहसँग सम्बन्धित संस्थाले समन्वय गरेर बोली लगाएका थिए कि थिएनन् र प्रतिस्पर्धी मूल्य खोजी वास्तविक थियो कि औपचारिक मात्र-यी प्रश्नको जवाफसमेत नियामकको छानबिनले दिनुपर्छ।

कम्पनी राम्रो हुनु र मूल्य निष्पक्ष हुनु फरक प्रश्न

टाइम फर्मास्युटिकल्स वि.सं. २०५२ मा स्थापना भएको औषधि उत्पादक कम्पनी हो। गैँडाकोटमा उत्पादन कारखाना रहेको कम्पनीले दुई सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको सार्वजनिक विवरणमा उल्लेख छ। आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ हो।

कम्पनी सञ्चालनमा हुनु, नाफामा रहनु वा विकासको सम्भावना देखिनु सकारात्मक पक्ष हुन सक्छ। तर कम्पनी राम्रो देखिनु र त्यसको आईपीओ मूल्य निष्पक्ष तरिकाले निर्धारण हुनु अलग विषय हुन्।

बुक बिल्डिङमा सर्वसाधारणले मूल्य निर्धारण गर्दैनन्। उनीहरूका तर्फबाट सीमित योग्य संस्थागत लगानीकर्ताले मूल्य खोज्छन्। त्यसैले ती संस्थाको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेपछि पूरै प्रक्रियाको विश्वसनीयता प्रभावित हुन्छ।

अब यो विषय टाइम फर्मास्युटिकल्सको एउटा आईपीओमा मात्र सीमित छैन। यदि प्रिआईपीओ लगानीकर्ता वा उनीहरूसँग सम्बन्धित संस्थाले सार्वजनिक फण्ड प्रयोग गरेर उच्च कटअफ मूल्य बनाउने अभ्यास स्थापित भयो भने बुक बिल्डिङ कम्पनीको वास्तविक मूल्य पत्ता लगाउने विधि नभई पुराना लगानीकर्तालाई महँगो मूल्यमा बाहिरिने बाटो बन्न सक्छ।

प्राप्त कागजातको आधिकारिकता पुष्टि भएपछि मात्र संलग्न व्यक्ति तथा संस्थाको भूमिकाबारे ठोस निष्कर्ष निकाल्न सकिन्छ। तर त्यसअघि धितोपत्र बोर्डले आईपीओ स्वीकृतिको प्रक्रिया हतारमा अघि बढाउनु हुँदैन।

कटअफ मूल्य कसरी बन्यो, कसले कति मूल्यमा बोली लगायो र बोलपत्रदाताको प्रिआईपीओ लगानीकर्तासँग कुनै सम्बन्ध थियो कि थिएन - यी प्रश्नको स्पष्ट उत्तर आएपछि मात्रै सर्वसाधारणलाई ४५० रुपैयाँमा आईपीओ बेच्ने बाटो खोलिनुपर्छ।

यो विषयमा कम्पनीको आधिकारिक धारणा लिन भाइस प्रेसिडेन्ट केदारलाल श्रेष्ठलाई जिज्ञासा राख्दै प्रश्न पठाइए पनि त्यहाँबाट जवाफ आएन  ।

This is Developing Story.................

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.