काठमाण्डौँ । बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ।
बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउन र ऋण असुलीलाई तीव्रता दिन समितिले यस्तो कदम चालेको जनाएको छ।
समितिको शुक्रबार बसेको बैठकले लालीगुराँस सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड का ठूला ऋणीहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।
सार्वजनिक गरिएको विवरणअनुसार लालीगुराँस सहकारीका १३ जना, सुमेरुका ३१ जना, नेसनल नमोबुद्धका ११ जना, दर्शन सहकारीका ५४ जना तथा सिभिल सहकारीका पाँच जना ठूला ऋणीको नाम सूचीमा समावेश गरिएको छ।
समिति सदस्य रामेश्वर ढकाल का अनुसार समितिसँग उपलब्ध अभिलेख तथा ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो।
उनले सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई बक्यौता रकम यथाशीघ्र भुक्तानी गरी बचतकर्ताको रकम फिर्ता प्रक्रियामा सहयोग गर्न आग्रह गरे।
समितिले समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको रकम फिर्ता गराउन ऋण असुलीलाई प्राथमिकता दिइएको उल्लेख गर्दै ऋणीहरूलाई कानूनी दायित्व पूरा गर्न र सहकारीको वित्तीय पुनर्संरचनामा सहयोग गर्न आह्वान गरेको छ।

