काठमाण्डौ । विश्व वातावरण दिवसको अवसरमा मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित उक्त कार्यक्रम पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोग तथा जलविनायक सामुदायिक वन उपभोक्ता समूह र प्रगतिशील युवा समूहको संयुक्त सहकार्यमा सम्पन्न भएको हो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क परिसरमा धुपी प्रजातिका साथै विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन्। यसले सामुदायिक वनको संरक्षणसँगै मञ्जुश्री पार्कको सौन्दर्य अभिवृद्धि र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडकी सीएसआर डाइरेक्टर तथा प्रमोटर शेयरहोल्डर अनुपा भण्डारी जालानले सामुदायिक वन र स्थानीय समुदायको आवश्यकता पहिचान गरी वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले विगत केही वर्षदेखि वर्ल्डलिङ्कले देशका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका क्षेत्रमा वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।
‘वातावरण संरक्षण कुनै एक दिनमा सीमित विषय होइन, यो हाम्रो जीवनशैली, सामाजिक उत्तरदायित्व र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको साझा दायित्व हो,’ जालानले भनिन्। उनले दिगो विकास र स्वच्छ वातावरण निर्माणका लागि निजी क्षेत्र, स्थानीय समुदाय तथा युवाबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिपक महर्जनले यस्ता कार्यक्रमले वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सामुदायिक वन र निजी क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा यस कार्यक्रमलाई चित्रण गरे।
विश्व वातावरण दिवसको अवसरमा सम्पन्न उक्त कार्यक्रमले वातावरण संरक्षणमा सबै क्षेत्रको साझा प्रयास र सहकार्यको आवश्यकतालाई उजागर गर्नुका साथै ‘पृथ्वीको भविष्य, हाम्रो जिम्मेवारी’ भन्ने सन्देशलाई थप सशक्त बनाएको आयोजकको भनाइ छ।
वर्ल्डलिङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण तथा सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा प्रवर्द्धन, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धिजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

