काठमाण्डौ । विश्वकप फुटबल अवलोकनका लागि अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको छ।
दुवै जना मंगलबार बिहान अन्तर्राष्ट्रिय उडानमार्फत अमेरिका प्रस्थान गर्ने तयारीमा विमानस्थल पुगेका थिए।
तर, अध्यागमन विभागले उनीहरूलाई विदेश जान अनुमति नदिई फर्काएको हो।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्राप्त पत्रका आधारमा उनीहरूको विदेश यात्रा रोकिएको हो।
तिवारीले मन्त्रालय तथा राखेपको निर्देशनअनुसार एन्फाका पदाधिकारीहरूलाई खेलकुदसम्बन्धी कार्यक्रममा विदेश जान नदिन भनिएको जानकारी दिँदै सोही निर्देशन कार्यान्वयन गरिएको बताए।
एन्फासँग सम्बन्धित आर्थिक तथा प्रशासनिक विषयमा भइरहेको छानबिनका कारण राखेपले अध्यक्ष नेम्वाङ, महासचिव राईसहित संघका पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको स्रोतले जनाएको छ।

