काठमाण्डौ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचनाहरू हटाइएको छ।
देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासनको समन्वयमा वेणी क्षेत्र आसपास अनधिकृत रूपमा बनाइएका टहरा तथा अन्य अस्थायी निर्माणहरू हटाइएका हुन्।
त्रिशूली र कालीगण्डकी नदीको संगमस्थल ‘वेणी’ क्षेत्रस्थित स्नानघाट संरक्षण तथा धार्मिक वातावरणलाई व्यवस्थित र सौन्दर्यपूर्ण बनाउने उद्देश्यले समितिले सात दिनको समयसीमा तोकी अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो।
सोही अनुरूप हालसम्म १६ वटा अस्थायी टहरा पूर्ण रूपमा हटाइसकिएको देवघाट गाउँपालिकाकाले जनाएको छ ।
स्नानघाट वरिपरि निर्माण गरिएको पर्खालभन्दा बाहिरको सार्वजनिक जग्गामा विभिन्न संघसंस्था, साधु–सन्त, व्यवसायी तथा अन्य व्यक्तिहरूले अस्थायी संरचना बनाउँदै आएको पाइएको थियो।
धार्मिक क्षेत्रको मर्यादा, पर्यटकीय आकर्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई ध्यानमा राख्दै स्थानीय सरकार, राजनीतिक दल र सरोकारवालाको सहकार्यमा हटाउने अभियान अघि बढाइएको हो।
यसैबीच,देवघाट क्षेत्रकै राममन्दिर गुठीको नाममा रहेको ठूलो परिमाणको जग्गा समेत अतिक्रमणमा परेको खुलासा भएको छ।
कुल १४९ रोपनीमध्ये करिब ३० रोपनी जग्गा अतिक्रमणमा परेको पाइएको छ।
उक्त क्षेत्रमा हाल ३७ घरधुरीका १०६ जना बसोबास गर्दै आएका छन्।
गुठी सम्पत्ति कानूनी रूपमा व्यक्तिगत नाममा हस्तान्तरण गर्न नमिल्ने भएकाले सो क्षेत्र खाली गर्न स्थानीय तहले आग्रह गरेको छ।
वास्तविक भूमिहीन सुकुम्बासीका लागि सरकारले वैकल्पिक व्यवस्थापनको तयारी गरिरहेको भन्दै गुठी जग्गामा अनधिकृत बसोबास नगर्न आग्रह गरिएको छ।
स्थानीय तहले घरायसी कागजका आधारमा गुठी जग्गा किनबेच गर्ने गतिविधि बढ्दै गएको भन्दै त्यसप्रति सचेत रहन समेत आग्रह गरेको छ।
यसैबीच, तनहुँकै व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक मिचेर बनाइएका अनधिकृत संरचना हटाउने अभियानलाई थप कडाइका साथ अघि बढाएको छ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ३५ दिनभित्र सडक अधिकार क्षेत्र (राइट अफ वे) भित्रका संरचना हटाउन पुनः सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो।
नगरपालिकाले मुख्य चोक, फुटपाथ तथा सडक सीमामा बनेका पक्की संरचना, बरन्डा र टिनका टहरा हटाउन निर्देशन दिएको छ।
तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा नगरपालिकाले नै हटाई लागेको खर्च सम्बन्धित पक्षबाट असुल गरिने चेतावनी पनि दिइएको छ।
बजार व्यवस्थापन, ट्राफिक सुधार, पैदल यात्रुको सहज आवागमन तथा नगरको सौन्दर्यीकरणका लागि अभियान सञ्चालन गरिएको हो।
स्थानीय व्यवसायी, टोल विकास संस्था र सरोकारवालाको सहयोगमा अभियान प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।

