काठमाण्डौ । मधेश प्रदेश अधिवेशनको तयारी तीव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको जरुरी सूचनामार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।
आयोगले अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधानसम्मत ढंगले सम्पन्न गराउन आवश्यक थप तयारी र व्यवस्थापनको आवश्यकता देखिएकाले हाललाई सम्पूर्ण प्रक्रिया रोकिएको जनाएको छ।
यससँगै प्रतिनिधि छनोट, उम्मेदवारी दर्ता, निर्वाचन कार्यक्रम, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सबै गतिविधि स्थगित भएका छन्।
रास्वपाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने प्रयासस्वरूप प्रदेश अधिवेशनहरूलाई महत्वका साथ अगाडि बढाइरहेको अवस्थामा मधेस प्रदेश अधिवेशनको स्थगनलाई राजनीतिक रूपमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टीभित्र संगठन विस्तार, नेतृत्व चयन र प्रतिनिधित्वका विषयमा देखिएका चासो तथा व्यवस्थापकीय चुनौतीहरूलाई सम्बोधन गर्न समय आवश्यक परेको संकेत आयोगको निर्णयले गरेको विश्लेषण हुन थालेको छ।
आयोगले पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ ले दिएको अधिकार प्रयोग गर्दै निर्णय गरिएको स्पष्ट पारेको छ।
साथै, अर्को सूचना जारी नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
अधिवेशनको नयाँ मिति, समय र संशोधित कार्यतालिका पछि सार्वजनिक गरिने आयोगले जनाएको छ।
सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग तथा मधेस प्रदेश समितिलाई समेत पठाइएको छ।
रास्वपाले पछिल्लो समय संगठन सुदृढीकरण र आन्तरिक संरचना निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ।
यस्तो अवस्थामा मधेश प्रदेश अधिवेशन स्थगित हुनु केवल प्राविधिक निर्णय मात्र हो वा यसले पार्टीभित्रको शक्ति सन्तुलन, संगठनात्मक तयारी तथा नेतृत्व व्यवस्थापनसँग सम्बन्धित गहिरा प्रश्नहरू पनि संकेत गर्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

