काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य करिब २ प्रतिशतले घट्दै ११ हप्ताकै न्यूनतम स्तरमा पुगेको छ। अमेरिकी–इरानबीच पुनः बढेको सैन्य तनावका कारण डलर र कच्चा तेलको मूल्य बढेपछि सुनमा दबाब परेको हो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.७९ प्रतिशत अर्थात ७६.७४ डलरले घट्दै प्रतिऔंस ४ हजार १८५ डलरमा सीमित बनेको छ । जुन मार्च २३ यताकै सबैभन्दा कमजोर स्तर हो।
डलरको मजबुतीका कारण अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो बनेको छ । जसले माग घटाएको विश्लेषकहरूले बताएका छन्।
साथै, तेलको मूल्य करिब १ प्रतिशतले बढेपछि मुद्रास्फीति बढ्ने चिन्ता थपिएको छ, जसले अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समय उच्च राख्ने अपेक्षा बलियो बनाएको छ।
बजार विश्लेषकहरुका अनुसार हालको गिरावटको मुख्य कारण फेडको मौद्रिक नीतिसम्बन्धी अपेक्षा, अमेरिकी बन्ड यिल्ड वृद्धि र डलरको मजबुती नै हो, जसले सुनलाई दबाबमा पारेको छ।
अमेरिकाले इरानमा गरेको सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव पुनः बढेको छ। इरानले अमेरिकी हेलिकप्टर खसालेको दाबीपछि अमेरिका प्रतिकारमा उत्रिएको बताइएपछि हर्मुज जलमार्ग क्षेत्रमा तनाव थपिएको छ, जसले बजारमा अस्थिरता बढाएको छ।

