काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । मध्यपूर्वमा जारी तनाव केही मत्थर हुने संकेत देखिएपछि तेलको मूल्य घट्दा मुद्रास्फीतिको चिन्ता कम भएको छ। यससँगै लगानीकर्ताले अमेरिकी फेडरल रिजर्भको नीतिगत निर्णय पर्खिरहेका बेला सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.५३ प्रतिशत अर्थात २१ डलरले बढेर प्रतिऔंस ४ हजार ८९ डलर कायम भएको छ । तेल र अमेरिकी डलर दुवैको मूल्यमा आएको गिरावटले सुनलाई फाइदा पुगेको हो। अमेरिका र इरानबीच तनाव कम हुने अपेक्षाका कारण तेलको मूल्य घट्दा मुद्रास्फीतिसम्बन्धी चिन्ता पनि केही कम भएको छ ।
अमेरिकी डलर सूचकांक ०.३ प्रतिशतले घटेको छ। डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्यांकन गरिएका सुनजस्ता धातु तुलनात्मक रूपमा सस्तो बन्ने गर्छन्।
उता इरानले अमेरिकाले आक्रमण रोकिरहेसम्म आफूले पनि आक्रमण रोक्ने संकेत दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारहरूले लक्ष्यहरू घट्दै गएको र अमेरिकी सैन्य भण्डारमा दबाब परेको भन्दै बमबारी अभियान रोक्न सुझाव दिएका थिए।
यसैबीच, तेलको मूल्य सोमबार ४ प्रतिशतभन्दा बढीले घटेको छ। यस वर्ष सुरु भएको द्वन्द्वका कारण तेलको मूल्य बढ्दा विश्वव्यापी मुद्रास्फीति र केन्द्रीय बैंकहरूले ब्याजदर बढाउने सम्भावना बढेको थियो। उच्च ब्याजदरका कारण प्रतिफल नदिने सम्पत्ति भएकाले सुनप्रतिको आकर्षण घट्ने गर्छ।

