काठमाडौं । अमेरिका र इरानबीच दुई सातादेखि जारी सैन्य आक्रमण अस्थायी रूपमा रोकिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। दुवै देशले थप सैन्य कारबाही नगरेपछि मध्यपूर्वमा तनाव कम हुने र कूटनीतिक समाधानको सम्भावना बढेको अपेक्षाले तेल बजारमा सकारात्मक प्रभाव परेको हो।
ब्रेन्ट क्रुडको मूल्य ५.९७ प्रतिशत अर्थात ५.७८ डलरले घटेर प्रतिब्यारेल ९१ डलर कायम भएको छ । यस्तै डब्लूटीआई क्रुडको मूल्य पनि ५.७१ प्रतिशत अर्थात ५.१० डलरले ओरालो लाग्दै प्रतिब्यारेल ८४.२१ डलरमा सीमित बनेको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण पछिल्ला तीन सातादेखि निरन्तर उकालो लागेको तेलको मूल्य अहिले करिब एक सातायताकै न्यून स्तरमा झरेको छ। अमेरिका र इरानबीच थप सैन्य आक्रमण नहुनु तनाव कम हुने दिशातर्फको पहिलो स्पष्ट संकेत भएको बताइएको छ ।
यद्यपि, हर्मुज जलमार्गमार्फत हुने समुद्री ढुवानी अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन। केप्लरका अनुसार सप्ताहन्तमा दैनिक १० भन्दा कम मालवाहक जहाज मात्र उक्त मार्गबाट आवतजावत गरेका थिए। सुरक्षा अवस्थाबारे थप स्पष्टता नआएसम्म अधिकांश ढुवानी कम्पनीहरू नियमित सेवा पुनः सञ्चालन गर्न हतारिने पक्षमा छैनन्।
हाल तेलको मूल्य घटे पनि बजार अझै भू–राजनीतिक जोखिमप्रति संवेदनशील रहेको बताएका छन्। मध्यपूर्वको अस्थिरता र रुस–युक्रेन युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा जोखिम कायम रहेको उनीहरूको भनाइ छ। युक्रेनी ड्रोन आक्रमणका कारण रुसी जहाज र तेल प्रशोधन पूर्वाधार प्रभावित हुन सक्ने भएकाले आपूर्ति शृंखलामा थप अवरोध आउन सक्ने चेतावनी दिइएको छ।
कच्चा तेलको आपूर्तिमा अवरोध जारी रहे ऊर्जा मूल्य पुनः बढ्न सक्ने विश्लेषण समेत गरिएको छ । जसले विश्वव्यापी मुद्रास्फीतिको जोखिमलाई थप चर्काउन सक्नेछ।
साथै, युरोपेली संघले प्रतिबन्ध उल्लंघन गर्ने रुसी तेल बोकेका ट्याङ्करबाट तेल जफत गरी बिक्री गर्न अनुमति दिएको छ भने रुसी तेलमाथिको मूल्य–सीमा समायोजन गर्ने निर्णय पनि हालका लागि स्थगित गरेको छ।

