काठमाण्डौ । सरकारले निकासी–पैठारी तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएका वस्तुहरू भौतिक तथा डिजिटल (अनलाइन) माध्यमबाट खुला रूपमा बिक्री भइरहेको गुनासोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण कानूनविपरीत रहेको स्पष्ट पारेको छ। यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिँदै उल्लंघन गर्नेविरुद्ध कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
विभागका अनुसार निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै सरकारले २०७६ असार २ र २०७६ चैत २४ मा नेपाल राजपत्रमार्फत विभिन्न वस्तुको निकासी वा पैठारीमा पूर्ण तथा परिमाणात्मक प्रतिबन्ध लगाएको थियो।
यद्यपि, प्रतिबन्धित वस्तुहरू अझै पनि बजार तथा अनलाइन प्लेटफर्ममार्फत निर्बाध रूपमा बिक्री भइरहेको सम्बन्धमा प्राप्त उजुरीपछि विभागले पुनः सचेत गराउँदै सूचना जारी गरेको हो।
विभागले सम्पूर्ण पैठारीकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई प्रचलित कानूनले निर्धारण गरेका दायित्व, मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्दै मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
साथै, प्रतिबन्धित वस्तुको आयात, भण्डारण वा बिक्री–वितरण गरेको पाइए निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानूनबमोजिम कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ।

