काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी निर्वाचन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय तयारी अपुग रहेको निष्कर्ष निकाल्दै मतदान प्रक्रिया रोकेको जनाएको हो।
आयोगका प्रमुख निर्वाचन अधिकृत भुवन केसीका अनुसार मतपत्रमा रहेका केही कमजोरी सच्याउन, मतदाता नामावलीको अन्तिम प्रमाणीकरण सम्पन्न गर्न तथा समायोजन सूचीमा समावेश करिब ४०० प्रतिनिधिसम्बन्धी गुनासा र विवाद टुंग्याउन समय आवश्यक परेकाले निर्वाचन प्रक्रिया रोकिएको हो।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश निर्वाचन समितिमा थप जनशक्ति परिचालन गर्ने तयारीसमेत भइरहेकाले अधिवेशनलाई केही समयका लागि स्थगित गरिएको आयोगले जनाएको छ।
आयोगले जारी गरेको सूचनामा मतदान प्रक्रियाबाट छुट्न पुगेका वा भ्रमका कारण फर्किएका प्रतिनिधिलाई समेत सहभागी हुने अवसर सुनिश्चित गर्न आवश्यक काम पूरा भएपछि अधिवेशन पुनः सञ्चालन गरिने उल्लेख छ।
निर्वाचनको बाँकी कार्यक्रम र मतदानको नयाँ मिति सम्बन्धी जानकारी मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक रूपमा सार्वजनिक गरिने आयोगको भनाइ छ।
आयोगले प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालालाई अनधिकृत सूचना वा हल्लाको पछि नलाग्न आग्रह गर्दै आधिकारिक जानकारीलाई मात्र आधार बनाउन अनुरोध गरेको छ।
बागमती प्रदेश सभापति पदका लागि अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य चुनावी प्रतिस्पर्धामा रहेका छन्।

