काठमाण्डौ । दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई २०२४ मा भएको कथित ड्रोन आक्रमण र असफल मार्शल ल सँग सम्बन्धित मुद्दामा ३० वर्षको जेल सजाय सुनाएको छ।
सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनलाई ‘शत्रुलाई सहयोग गरेको’ र ‘अधिकारको दुरुपयोग’ गरेको ठहर गर्दै उक्त निर्णय सुनाएको हो। अदालतका अनुसार, २०२४ को अक्टोबरमा प्योङयाङतर्फ ड्रोन पठाउने योजना प्रारम्भदेखि नै राजनीतिक संकट सिर्जना गरी मार्शल ल घोषणा गर्ने रणनीतिको हिस्सा थियो।
अभियोजन पक्षले पूर्व राष्ट्रपति युनले राज्यसत्ता कब्जा गर्ने उद्देश्यले सैन्य तनाव बढाउने योजना बनाएको दाबी गरेको थियो। यसै मुद्दामा पूर्व रक्षा मन्त्रीलाई पनि कडा सजाय सुनाइएको छ।
युनका वकिलहरूले भने उनले न त ड्रोन अपरेसन आदेश दिएका थिए, न पछि स्वीकृति दिएका थिए भन्दै आरोप अस्वीकार गरेका छन्। उनका अनुसार ड्रोन गतिविधि उत्तर कोरियाले पठाएको फोहोर भरिएका बेलुनहरूको प्रतिक्रियास्वरूप गरिएको थियो।
यसअघि पनि युनलाई २०२४ को असफल मार्शल ल प्रयाससँग सम्बन्धित अर्को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको थियो। उनी हाल हिरासतमा रहेका छन् र दुवै फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारीमा छन्।

