काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार नियमिततर्फको उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ। यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।
तीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित र ८५ हजार ९२९ जना आंशिक (आंशिक/ग्रेडवृद्धि)परीक्षार्थी रहेका बोर्डले जनाएको छ।
परीक्षा गत जेठ १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डले सरकारले दिएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्देशनभन्दा अगावै नतिजा प्रकाशन गरेको हो।
नतिजा बोर्डको आधिकारिक वेबसाइट तथा एसएमएस सेवा मार्फत हेर्न सकिनेछ।

