काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्ने दुई हजार ५५६ सवारी चालकलाई पछिल्लो २४ घण्टाभित्र कारबाही गरिएको छ।
उक्त कारबाहीबाट २२ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये १०६ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन्।
यस्तै, नियमविपरीत राइड सेयरिङ गर्ने १५४ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०७ जना तथा अत्यधिक गतिमा सवारी चलाउने १८३ जना पनि कारबाहीको दायरामा परेका छन्।
प्रहरीले लेन अनुशासन उल्लङ्घन गर्ने ९७ जना, निषेधित क्षेत्रमा हर्न प्रयोग गर्ने १०९ जना र सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ जनालाई समेत कारबाही गरेको जनाएको छ।
साथै, प्राविधिक रूपमा मापदण्ड पूरा नगरेका ३० वटा सवारीसाधनमाथि पनि आवश्यक कारबाही गरिएको छ।
ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६७२ जना चालकलाई पनि कारबाही गरिएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उपत्यकाभर नियमित निगरानी र कारबाही अभियान जारी राखिएको प्रहरीले जनाएको छ।

