काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा शुरु हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ छ ।
महाधिवेशनको उद्घाटन समारोह भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा निर्माण गरिएको जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोमभित्र आयोजना गरिनेछ। करिब ३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त संरचना विशेष रूपमा तयार गरिएको हो।
महाधिवेशनका लागि सहरलाई ब्यानर, तोरण र स्वागत गेटहरूले सजाइएको छ। देश तथा विदेशबाट करिब ३ हजार ५०० प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। उनीहरूको व्यवस्थापनका लागि चितवनका ३०० भन्दा बढी होटलहरू प्रयोग गरिएको पार्टीले जनाएको छ।
उद्घाटन समारोहमा पार्टी सभापति रबि लामिछाने लगायत केन्द्रीय नेताहरूको उपस्थिति रहनेछ। साथै विभिन्न राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री बालेन शाह समेत सहभागी हुने बताइएको छ।
आइतबार दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशन संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।
सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि विशेष योजना लागू गरिएको छ। सवारी व्यवस्थापन सहज बनाउन ड्रोनमार्फत अनुगमन गरिनेछ भने विभिन्न स्थानमा पार्किङ क्षेत्र तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। महाधिवेशन स्थल आसपासका केही मुख्य सडकहरूमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।
बन्दसत्रका लागि चितवन उद्योग संघको प्रदर्शनी हल प्रयोग गरिनेछ। सम्बन्धित निकायको समन्वयपछि उक्त हल उपलब्ध गराइएको हो।
महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिनेछ। प्रतिनिधिहरूले टचस्क्रिनमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्य चयन गरिनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन प्रक्रिया अघि बढाइनेछ।
निर्वाचन कार्यक्रम आइतबार दिउँसो २ बजे मनोनयन प्रक्रियाबाट सुरु भई सोही दिन मतदान सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

