काठमाण्डौ । अमेरिकी सेनाले आफ्नो पछिल्लो वक्तव्यमा उसका लडाकु विमानहरूले स्ट्रेट अफ हर्मुज नजिक रहेका इरानका करिब १० सैन्य अड्डाहरूलाई लक्षित गरेको दाबी गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले एक्समा जानकारी दिँदै भनेको छ, ‘इरानद्वारा एम÷टी किकूमा गरिएको ड्रोन आक्रमणको जवाफस्वरूप, अमेरिकी नौसेना र वायु सेनाका लडाकु विमानहरूले शनिबार राति स्ट्रेट अफ हर्मुज र वरपरका विभिन्न स्थानहरूमा रहेका इरानका १० सैन्य अड्डाहरूमा आक्रमण गरेका छन्।’
सेन्ट्रल कमान्डले उक्त वक्तव्यसँगै एक भिडियो पनि सार्वजनिक गरेको छ, जसमा रातको अन्धकारमा विस्फोटहरू भएको देखिन्छ।
यसअघि अर्को एक वक्तव्यमा सेन्ट्रल कमान्डले इरानमाथि नयाँ आक्रमणहरू गरिएको जनाएको थियो। सेन्ट्रल कमान्डका अनुसार यो कारबाही इरानद्वारा पानामाको झण्डा बोकेको एम÷टी किकू जहाजमा गरिएको आक्रमणपछि गरिएको हो।
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यी आक्रमणहरूको पुष्टि गरेका छन् र इरानलाई चेतावनी दिँदै यदि इरानले युद्धविरामको उल्लङ्घन जारी राख्यो भने उसको अस्तित्व समाप्त पारिने चेतावनी दिएका छन् ।

