काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सी सम्बन्धित व्यवसायहरूबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् । ट्रम्पले सार्वजनिक गरेको सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय विवरणमा यस्तो देखिएको हो ।
९२७ पृष्ठ लामो उक्त विवरणमा उनले ट्रम्प सम्बन्धित मेमेक्वाइनबाट मात्रै करिब ६३५ मिलियन डलर रोयल्टी प्राप्त गरेको उल्लेख छ। उक्त टोकनको मूल्य भने बजारमा घटेको बताइएको छ।
त्यसैगरी, उनले आफ्ना छोराहरू र विशेष दूत स्टीभ विटकफका परिवारका सदस्यहरूले स्थापना गरेको क्रिप्टो कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलबाट ५०० मिलियन डलरभन्दा बढी आम्दानी गरेका छन्।
क्रिप्टो बाहेक, ट्रम्पले आफ्नो परम्परागत व्यवसायहरूबाट पनि ठूलो आम्दानी गरेका छन्। मार–ए–लागो क्लबबाट करिब ७७ मिलियन डलर र फ्लोरिडाको डोरल गल्फ क्लबबाट १२२ मिलियन डलर आम्दानी भएको विवरणमा उल्लेख छ।
न्यू जर्सी, फ्लोरिडा र स्कटल्याण्डका अन्य गल्फ रिसोर्टहरूबाट पनि उनले करोडौँ डलर आम्दानी गरेका छन्। त्यस्तै, ब्रान्डेड घडी, बाइबल, जुत्ता, परफ्युम र गितारजस्ता उत्पादनबाट पनि उनले लाखौँ डलर रोयल्टी प्राप्त गरेका छन्।
फर्स्ट लेडी मेलानिया ट्रम्पले पनि आफ्नो २०२५ को आम्दानी विवरण सार्वजनिक गर्दै एक डकुमेन्ट्री सम्बन्धी लाइसेन्स सम्झौताबाट १०।७ मिलियन डलर र एनएफटी बिक्रीबाट ६ मिलियन डलर आम्दानी गरेको उल्लेख गरेकी छन्।
यसैबीच, ट्रम्पले विभिन्न कानुनी मुद्दा समाधानसँग सम्बन्धित सम्झौताबाट समेत करोडौँ डलर प्राप्त गरेका छन्। तर ह्वाइट हाउसले भने यी अधिकांश रकम भविष्यमा बन्ने राष्ट्रपति पुस्तकालय तथा सार्वजनिक परियोजनामा प्रयोग गरिने दाबी गरेको छ।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनको परिवारले कुनै पनि प्रकारको स्वार्थको द्वन्द्वमा संलग्न नभएको स्पष्ट गर्दै सबै निर्णयहरू अमेरिकी जनताको हितमा गरिएको बताएको छ।
क्रिप्टोकरेन्सी उद्योगप्रति ट्रम्प प्रशासनले हाल सकारात्मक नीति अपनाएको र अमेरिकालाई “क्रिप्टो राजधानी” बनाउने लक्ष्य राखिएको पनि उल्लेख गरिएको छ।

