काठमाण्डौ । महोत्तरी जिल्लाका दुई चिनी उद्योगमा आर्थिक वर्ष २०८२÷८३ मा आपूर्ति गरिएको उखुको अधिकांश भुक्तानी किसानले प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार किसानले हालसम्म रु एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ भुक्तानी पाइसकेका छन्।
जिल्लाको गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज तथा गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा किसानले कुल २८ लाख ६७ हजार ९८६ क्विन्टल ९६ किलो उखु आपूर्ति गरेका थिए। उक्त उखुको कुल मूल्य रु एक अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ निर्धारण गरिएकोमा अधिकांश रकम उद्योगले किसानलाई भुक्तानी गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार बाँकी रकमसमेत चाँडै भुक्तानी गरिनेछ। साथै, सरकारले उपलब्ध गराउने उखु किसान अनुदानबापत रु २० करोड सात लाख ५९ हजार ११७ भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरिएको छ।
उखु किसानलाई अनुदान वितरणका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भुक्तानी समिति गठन गरिएको छ। समितिले आवश्यक प्रक्रिया पूरा गरी अनुदान रकम भुक्तानीका लागि सिफारिस गरेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार यस वर्षको उखुको मूल्य तथा सरकारी अनुदान दुवै रकम असार मसान्तभित्र किसानको खातामा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

