काठमाण्डौ। लुम्बिनी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिइने भएको छ । बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकको सुरुवातमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । जसअनुसार स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले जवाफ दिनेछन् ।
त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल अघि बढाइनेछ ।
लामो समयदेखिको विवादपछि लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल आइतबारदेखि सुरु भएको हो । मन्त्रीहरूका निर्वाचन क्षेत्र तथा सम्बन्धित मन्त्रालयमा मात्र बजेट केन्द्रित भएको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरूले यसअघि बैठक अवरुद्ध गर्दै आएका थिए ।

