काठमाण्डौ । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्याक्सिनेटरहरूले सेवा उपलब्ध गराएबापत पाउनुपर्ने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा इटहरी कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
आयोगले चालक यादवलाई घुसस्वरूप लिएको भनिएको रु ३३ हजार ३५० नगदसहित पक्राउ गरेको जनाएको छ। साथै, स्रोत खुल्न नसकेको रु ४८ हजार ७० नगदसमेत बरामद भएपछि कुल रु ८१ हजार ४२० नगद नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
यादवको साथबाट रु एक लाख २९ हजार बराबरका चार थान चेक र एक थान मोबाइल फोन तथा डा. दासको साथबाट रु एक लाख २५ हजार बराबरको एक थान चेक र एक थान मोबाइल फोनसमेत बरामद भएको आयोगले जनाएको छ।
घटनाका सम्बन्धमा दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

