काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले पुँजी बजारको विकास, सुधार र लगानीकर्ताको हित संरक्षणका लागि सरोकारवालासँग परामर्शलाई तीव्रता दिएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्ड अध्यक्षमा नियुक्त भएपछि डा. भट्टले धितोपत्र बजार, सिडिएससी, मर्चेन्ट बैंकर, धितोपत्र दलाल, क्रेडिट रेटिङ एजेन्सी, लगानीकर्ता तथा पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्दै आएका छन् ।
छलफलका क्रममा आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित पुँजी बजार विकास तथा सुधारका विषय साथै धितोपत्र बोर्डले अघि बढाउने पुँजी बजार विकास मार्गचित्र सम्बन्धी सुझाव संकलन गरिएको बोर्डले जनाएको छ ।
अध्यक्ष भट्टले कानूनी, संस्थागत, नियामकीय, प्रविधिगत सुधारसहित सुरक्षित, पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री पुँजी बजार निर्माणका लागि आवश्यक योजना तयार गरिने बताएका छन् ।
सरोकारवालाबाट प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको कार्ययोजनामा समेटिने र छिट्टै नेपालको पुँजी बजार विकास मार्गचित्रसहित समग्र सुधार योजना सार्वजनिक गरिने प्रतिबद्धता अध्यक्ष भट्टले व्यक्त गरे ।

