काठमाण्डौ । प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ।
बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणवश पुनः सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले सूचना टाँस गरी अर्को बैठक असार २५ गते बिहीबार बिहान ११ बजेका लागि तोकेका हुन्।
यसअघि बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको थियो।
सो प्रस्ताव पारित भएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। पछि संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक पुनः सञ्चालन हुन नसकेको जनाएको छ।

