काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको सय दिन निराशाजनक रहेको टिप्पणी गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई खुसी बनाउने कुनै काम गर्न नसकेको आरोप लगाए।
ओलीले सरकारको सय दिन जनताका लागि आशाभन्दा बढी पीडादायी बनेको दाबी गरे। उनले व्यंग्य गर्दै देशमा खुसी हुने उपाय अब राति अबेरसम्म विश्वकप फुटबल हेर्नु मात्र बाँकी रहेको टिप्पणी गरे।
सरकारलाई भाँडोमा उम्लिएको दूधसँग तुलना गर्दै ओलीले वर्तमान सरकारको “भुईँमा खुट्टा नै नभएको” बताए। उनका अनुसार उत्साह र प्रचारले मात्रै सरकार चल्दैन, स्थिरताका लागि कर्तव्यबोध, संयम र जिम्मेवारी चाहिन्छ।
“यसरी उम्लेकाहरू स्थिर हुँदैनन्,” ओलीले भने, “सरकारमा कर्तव्यबोध शून्य देखिएको छ।”
उनले प्रधानमन्त्री र मन्त्रीहरूविरुद्ध बोल्दा पनि जेल जानुपर्ने अवस्था सिर्जना भएको आरोप लगाए। ओलीले झुक्किएर पनि उनीहरूका बारेमा नबोल्न सुझाव दिँदै सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको बताए।
सरकारलाई कति नम्बर दिने भन्ने विषय अब जनता र सञ्चारमाध्यमकै हातमा रहेको पनि ओलीको भनाइ थियो। उनले सय दिनको मूल्यांकन जनताले व्यवहारमै गरिसकेको दाबी गरे।
एमाले सकियो भन्ने टिप्पणीप्रति जवाफ दिँदै ओलीले एमाले सकिनका लागि नभई देश बनाउन र सफलता हासिल गर्न जन्मिएको पार्टी भएको दाबी गरे।
कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका थिए।

