काठमाण्डौ । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।
वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरी शव पोस्टमार्टमका लागि पठाउन लागिएको हो।
नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए। गम्भीर घाइते अवस्थामा वीर अस्पतालमा उपचाररत उनको शुक्रबार निधन भएको हो।
अस्पतालका अनुसार पोस्टमार्टमको आवश्यक प्रक्रिया अघि बढाइए पनि मृतकका आफन्तले हालसम्म शव बुझ्न मानेका छैनन्।
नेपालीको मृत्युपछि घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर, भद्रकाली तथा वीर अस्पताल परिसरमा प्रदर्शन भइरहेको छ।

