काठमाण्डौ । मुगुका गणेश नेपालीको आत्मदाह घटनासँग जोडिएकी काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीलाई सोधपुछपछि छाडिएको छ। मृतकका परिवारबाट हालसम्म कसैविरुद्ध जाहेरी नपरेका कारण घटनामा कुनै मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने क्रममा उनी र एक महिला नगर प्रहरीबीच विवाद भएको थियो। विवादपछि भएको आत्मदाह घटनामा गम्भीर घाइते नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो।
घटनाको विवरण बुझ्न जिल्ला प्रहरी परिसर काठमाडौंले महिला नगर प्रहरीसहित महानगर प्रहरीका पाँच कर्मचारीलाई शुक्रबार कार्यालयमा बोलाएको थियो। प्रहरीले तीमध्ये तीन जनालाई नियन्त्रणमा लिएको विवरणसमेत सार्वजनिक भएको थियो। यद्यपि, उनीहरूलाई औपचारिक रूपमा पक्राउ नगरिएको र हाल प्रहरी हिरासतमा नरहेको काठमाडौं प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नगर प्रहरी कर्मचारीहरूलाई घटनाबारे बुझ्न बोलाइएको बताए। प्रारम्भिक सोधपुछपछि आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई पठाइएको उनको भनाइ छ।
प्रहरीका अनुसार मृतकका परिवार वा सरोकारवाला पक्षबाट कुनै व्यक्ति वा निकायलाई किटान गरी आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी आएमा त्यसका आधारमा अनुसन्धान अगाडि बढ्नेछ। तर, हालसम्म घटनासम्बन्धी कुनै जाहेरी वा औपचारिक निवेदन प्राप्त भएको छैन।

