काठमाण्डौ । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ मा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको पहिरोमा परेर मृत्यु भएको हो।
धाँमीगाउँका उनीहरू सोमबार बिहान अन्न पिस्न पानीघट्ट पुगेका थिए। घट्टमा बसिरहेका बेला माथिबाट अचानक खसेको पहिरोले पुरेपछि दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनाको शव निकालेको छ।
पहिरोका कारण पानीघट्टको करिब आधा भागसमेत पुरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

