काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न गर्ने नागरिकको हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।
सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै थापाले काठमाडौंको रातोपुलस्थित आफ्नो पुरानो निवासअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनालाई प्रश्न गर्नेहरूको मुख बन्द गर्ने प्रयासका रूपमा व्याख्या गरे। थापाको निवासअगाडि सोमबार बिहानदेखि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको थियो।
स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै थापाले गाडी पार्किङ गर्ने व्यक्ति प्रशासनको गाडी चढेर गएको दाबी गरे। उक्त दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
“सरकार आफैं प्रश्न गर्नेहरूको प्रश्न बन्द गर्न ओर्लिएको छ। यो सबैभन्दा अचम्मलाग्दो र हामी सबैले ध्यान दिनुपर्ने विषय हो,” थापाले भने, “यी घटनाले हाम्रो प्रश्न गर्ने हक खोस्न सक्दैनन्, न त हाम्रो हिम्मत नै कसैले खोस्न सक्छ।”
उनले आफ्नो घरअगाडि गाडी राखिनुलाई सामान्य पार्किङको घटनाका रूपमा मात्रै बुझ्न नसकिने बताए।
“आज मेरो घरअगाडि गाडी राखिएको मात्र होइन, मेरो मुख थुन्न खोजिएको हो। प्रश्न गरिस् भने खबरदार भनेर तर्साउन खोजिएको हो,” उनले भने, “त्यहाँ कुनै नागरिकले गाडी राखेको होइन, गाडी राख्ने व्यक्ति प्रशासनकै गाडी चढेर गएको प्रत्यक्षदर्शीले बताएका छन्।”
थापाले नेपाली समाजले प्रश्न गर्न पाउने अधिकार लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै सरकारलाई विगतका दमनकारी प्रवृत्ति नदोहोर्याउन आग्रह गरे।
उनले विगतमा राज्यका सुरक्षा निकाय आफ्नो घरसम्म पुगेका घटनाको स्मरण गर्दै अहिलेको गतिविधिले पुरानै शासनकालको झल्को दिएको टिप्पणी गरे।
“त्यही गल्लीबाट कुनै बेला प्रहरी मेरो घरमा आएको थियो, कुनै बेला सेना पनि आएको थियो,” उनले भने, “त्यो गल्लीले धेरै कुरा देखिसकेको छ। नेपाली समाजले प्रश्न गर्न पाउनुपर्छ भन्ने विषय आजको होइन।”
थापाले पुराना राजनीतिक दलले विगतमा यस्तै असहिष्णु प्रवृत्तिका कारण जनविश्वास गुमाएको उल्लेख गर्दै नयाँ भनिएका शक्तिबाट पनि त्यही व्यवहार दोहोरिनु गम्भीर चिन्ताको विषय भएको बताए।
“हिजो यही कारणले पुराना दलहरूले गुमाए भनियो। आज पनि त्यही प्रवृत्ति दोहोरिएको छ,” उनले भने, “किन यस्तो भइरहेको छ भन्ने विषयमा गम्भीर चिन्तन गर्नुपर्छ र यस्ता नयाँ घटना नदोहोरिऊन् भन्नेमा सबै सचेत हुनुपर्छ।”
थापाले नेपाली कांग्रेस जहाँ आलोचना आवश्यक छ, त्यहाँ आलोचना गर्ने र जहाँ प्रश्न उठाउनुपर्ने हो, त्यहाँ निरन्तर प्रश्न गरिरहने स्पष्ट पारे।

