काठमाण्डौ । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ। असार २५ गते आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो। उनलाई शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो।
प्रहरीका अनुसार मण्डल बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचार आवश्यक भएपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।
यसअघि पनि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको उपचारका क्रममा मृत्यु भइसकेको छ।

