काठमाण्डौ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आजको बैठकपछि अर्को बैठक साउन १४ गते राख्ने सहमति भएको हो।
कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार अर्को बैठकको मितिबारे सभामुखले आजको बैठकको अन्त्यमा औपचारिक जानकारी गराउनेछन्।
प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सोही बैठकका कारण बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
आजको बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन पेस गर्नेछिन्।
यस्तै, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि सदनमा पेस गरिनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिमाथि छलफल तथा अनुमोदनसमेत गरिनेछ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रमसम्बन्धी महासन्धि र श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त महासन्धिहरू आजै प्रतिनिधिसभाबाट अनुमोदन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

