काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङसँगको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेपछि मिटरब्याज पीडितहरू दोस्रो चरणको छलफलको प्रतीक्षामा निजगढमै रोकिएका छन्। तर, बुधबार दिनभर पर्खिँदासमेत गृहमन्त्री गुरुङ वार्तास्थलमा पुगेका छैनन्।
न्यायको माग गर्दै असार २५ गते जनकपुरधामबाट काठमाडौंतर्फ पैदल यात्रा सुरु गरेका पीडितहरूले मंगलबार राति अबेरसम्म निजगढ नगर उद्योग वाणिज्य संघको भवनमा सरकारी पक्षसँग छलफल गरेका थिए। वार्ताबाट कुनै ठोस निष्कर्ष ननिस्किएपछि बुधबार पुनः छलफल गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार पैदल यात्रा स्थगित गरेर बसेका पीडितहरू बुधबार बिहानैदेखि गृहमन्त्रीको प्रतीक्षामा छन्। तर, साँझसम्म पनि उनी वार्तास्थल पुग्ने वा नपुग्नेबारे स्पष्ट जानकारी दिइएको छैन।
पीडितहरूले आफ्ना मागमाथि सरकारले ठोस निर्णय नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्। दोस्रो चरणको वार्तापछि मात्रै काठमाडौं केन्द्रित पैदल यात्रा अघि बढाउने वा अन्य आन्दोलनका कार्यक्रम तय गर्ने उनीहरूको तयारी छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक स्थानीय नेताका अनुसार गृहमन्त्री गुरुङ बुधबार सिमरामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र छलफलमा व्यस्त भएकाले वार्तास्थल पुग्न ढिलाइ भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले गृहमन्त्रीले दिउँसो २ बजे नै प्रहरी टोली वार्तास्थलमा पठाएको जानकारी दिए। यद्यपि, गृहमन्त्री आफैँ कतिबेला पुग्ने भन्नेबारे कुनै जानकारी नआएको उनले बताए।
हाल प्रदेश प्रहरीका डीआईजीदेखि जिल्ला प्रहरी प्रमुख एसपीसम्मका अधिकारी वार्तास्थलमा पुगेका छन्। उनीहरूले आन्दोलनरत पीडितहरूलाई सम्झाइबुझाइ गर्दै वार्ताका लागि वातावरण सहज बनाउने प्रयास गरिरहेका छन्।
सरकारसँग निर्णायक संवाद हुने अपेक्षामा यात्रा रोकेका मिटरब्याज पीडितहरू भने गृहमन्त्रीको अनिश्चित प्रतीक्षाले थप निराश बनेका छन्।

