काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बाँदर लगायत वन्यजन्तुको कारण भएको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ जारी गरेको छ । प्राधिधकरणले बीमा ऐन, २०७९ को अधिनमा रही यो बीमालेख जारी गरेको हो ।
प्राधिकरणका अनुसार यस बीमालेखले १८ प्रजातीका वन्यजन्तुको कारणबाट भएको क्षति रक्षावरण हुनेछ । जसमा हात्ती, गैंडा, बाघ, भालु, चितुवा प्रजाती, स्याल, मृग प्रजाती, व्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसार रहेका छन् ।
यस बीमालेखबमोजिम उल्लेखित वन्यजन्तुको कारण क्षति भएमा २० हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्मको रक्षावरण हुनेछ ।
प्राधिकरणका अनुसार दुर्घटना खर्च १० लाख रुपैयाँ, व्यक्तिगत दुर्घटना मृत्यु भएमा १० लाख रुपैयाँ, पूण अशक्तता भएमा ५ लाख रुपैयाँ, औषधी उपचार खर्च गम्भीर घाइले भएमा १ लाख र सामान्य घाइते भएमा २० हजार रुपैयाँ सम्मको रक्षावरण हुनेछ ।
त्यस्तै, घर तथा भौतिक संरचनाका लागि ५ लाख रुपैयाँ, पशुधनमा १ लाख रुपैयाँ र कृषि बाली क्षतिमा ५० हजार रुपैयाँसम्म रक्षावरण हुने प्राधिकरणले जनाएको छ । यस बीमालेखअनुसार यी सबैको रक्षावरणमा भने १५ सय रुपैयाँ बीमाशुल्क लाग्नेछ । रक्षावरणमा दुर्घटना खर्च सुविधा बीमित परिवारका अधिकतम दुईजना सदस्यलाई प्रदान गरिनेछ ।
यस बीमालेखबमोजिम निर्जीवन बीमा कम्पनी र बीमितबीचको द्धिपक्षीय करार हुनेछ र बीमालेख मुद्रित वा विद्युतीय रुपमा जारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साथै बीमालेख जारी भएको मिति र समयबाट जोखिमको रक्षावरण प्रारम्भ भएको मानिनेछ ।
अब बाँदरले किसानको बालीमा क्षति गरेमा किसानले ५० हजार रुपैयाँसम्मको रक्षावरण प्राप्त गर्नेछ । तर त्यसका लागि किसानले वार्षिक १५ सय रुपैयाँ बराबरको बीमाशुल्क तिर्नुपर्नेछ ।
बीमालेखका शर्तहरु :
(क) यो बीमालेख एकीकृत बीमालेख हुनेछ र बीमालेखको अवधि एक वर्षको हुनेछ ।
(ख) यस बीमालेख बमोजिम वन्यजन्तुको आक्रमणबाट भएको क्षति बाहेक अन्य क्षति रक्षावरण गरिने छैन । (ग) बीमालेखले रक्षावरण गरिएको जोखिममध्ये बीमा अवधिभित्र सबै जोखिम एकै साथ नभएको अवस्थामा समेत बीमालेखको अवधिभर यो बीमालेख जारी रहनेछ ।
(घ) कृषि प्रयोजनको लागि पालन गरिएका पशुधनको मात्र यस बीमालेखले रक्षावरण गरिनेछ ।
(ङ) प्रचलित कानूनले निषेधित गरेका बालीको यस बीमालेखले रक्षावरण गर्ने छैन ।
(च) प्रचलित कानूनले निषेधित गरेको क्षेत्रमा बीमित कुनै क्रियाकलापमा संलग्न भएको र सो स्थानमा दुर्घटना भई क्षति भएको अवस्थामा यस बीमालेखले रक्षावरण गर्नेछैन् ।
(छ) घर तथा भौतिक संरचनामा थपघट वा स्वामित्व परिवर्तन भएमा बीमितले बीमकलाई सो को जानकारी दिनु पर्नेछ र बीमकले उक्त बीमालेख नयाँ धनीको नाममा निशुल्क नामसारी गरिदिनु पर्नेछ ।
(ज) पशुधन थपघट वा स्वामित्व परिवर्तन भएमा सोको विवरण बीमकलाई तत्काल जानकारी गराउनु पर्नेछ । (झ) बीमित स्थायी/अस्थायी पूर्ण अशक्त भएको कुरा मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित हुनु पर्नेछ ।
(ञ) बीमितले पालन गरेका पशुधन मध्ये तीन महिना भन्दा कम उमेरको पशुधनको वन्यजन्तुबाट आक्रमण भई क्षति भएमा यस बीमालेखले रक्षावरण गर्ने छैन ।
(ट) यस बीमालेखले बीमालेखको अवधिभित्र बीमितले लगाएको कृषिबालीहरुको बीमाङ्क रकमको सीमासम्म रक्षावरण गर्नेछ ।
(ठ) बीमितले क्षतिको विवरण सुरक्षितसाथ राख्नुपर्छ । साथै सर्जमिन मुचुल्का तयार भए पश्चात मात्र क्षति विवरण क्षति भएको स्थानबाट हटाउन सक्नेछ ।
(ड) बीमितबाट बीमालेख हराएको अवस्थामा समेत बीमकले दाबी भुक्तानीमा सहजीकरण गर्नु पर्दछ । (ढ) दुर्घटनाको कारण बीमित व्यक्ति वा परिवारका सदस्यको मृत्यु भएको अवस्थामा बीमाङ्क रकमको सीमा भित्र रहने गरी बीमकले घटना भएको सात दिन भित्र शव व्यवस्थापन तथा काजक्रिया खर्च वापत पचास हजार रुपैयाँ भुक्तानी दिनु पर्नेछ ।
(ण) बीमकले मानव मृत्यु दाबी भुक्तानी बाहेक अन्य दाबीमा पाँच प्रतिशत रकम कट्टा गरी दाबी भुक्तानी गर्नुपर्नेछ ।
(त) वन्यजन्तुको आक्रमणबाट बीमितले बसोवास गर्ने प्रयोजनका लागि तयार गरिएका पक्की, कच्ची, फुस, टिन वा माटोको घर तथा सोको परिसरभित्र रहेका गोठ, भान्साघर, शौचालय, पर्खाल जस्ता संरचनाहरूमा क्षति भएमा अधिकतम बीमाङ्कसम्म रक्षावरण हुनेछ ।

