काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि दोस्रो संशोधन गरेको छ । दोस्रो संशोधनमा वार्षिक मौद्रिक नीतिलाई तीनवटा दस्तावेजसहित सार्वजनिक गरिने उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (दोस्रो संशोधन, २०८३) लागू गर्दै मौद्रिक नीति तयार गर्ने, समीक्षा गर्ने र सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ ।
संशोधित कार्यविधिअनुसार मौद्रिक नीतिको मस्यौदा तयार गर्ने जिम्मेवारी मौद्रिक तथा पुँजीबजार शाखालाई दिइएको छ । शाखाले विभिन्न निकायबाट सुझाव, तथ्याङ्क र आवश्यक विवरण संकलन गरी मस्यौदा तयार गर्नेछ ।
अब मौद्रिक नीति तीन भागमा तयार गरिनेछ । पहिलो भागमा चालु आर्थिक वर्षको नीति कार्यान्वयन र समीक्षा, दोस्रोमा समष्टिगत आर्थिक अवस्थाको विश्लेषण र तेस्रो भागमा आगामी आर्थिक वर्षको मौद्रिक नीति समेटिनेछ ।
राष्ट्र बैंकले सरोकारवाला र विज्ञसँग छलफल गरी सुझाव संकलन गर्ने व्यवस्था पनि गरेको छ । सञ्चालक समितिबाट पारित भएपछि मौद्रिक नीति नेपाली र अंग्रेजी दुवै भाषामा सार्वजनिक गरिनेछ ।
कार्यविधिले मौद्रिक नीति सार्वजनिक गर्ने समयसीमा समेत तोकेको छ । वार्षिक मौद्रिक नीति आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा तोकिएको समयभित्र सार्वजनिक गरिनेछ। यसले मौद्रिक नीति प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउने राष्ट्र बैंकको अपेक्षा छ ।

