काठमाण्डौ । लामो समयदेखि सुस्त रहेको घरजग्गा कारोबारमा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट करिब १२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असार महिनामा देशभरका भूमि प्रशासन कार्यालयबाट ११ अर्ब ८४ करोड ५९ लाख ५५ हजार ५६ रुपैयाँ राजस्व संकलन भएको हो । यो रकम पछिल्ला महिनाहरूको तुलनामा उल्लेख्य बढी हो ।
तथ्यांकअनुसार गत जेठमा घरजग्गा कारोबारबाट ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार रुपैयाँ राजस्व उठेको थियो । यस्तै, वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ र चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असारमा समेत घरजग्गा कारोबारबाट ६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी राजस्व उठ्न सकेको थिएन । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को असारमा भने राजस्व संकलन ४ अर्ब ६१ करोड २५ लाख रुपैयाँमा सीमित थियो ।
साउन १ गतेदेखि कित्ताकाट नखुल्ने र जग्गा कारोबारमा लाग्ने लाभकर बढेका कारण साउन र भदौमा हुने जग्गा खरिदबिक्री पनि असार महिनामै भएको हुनसक्ने व्यवसायीहरुको भनाई छ । आजदेखि घरजग्गा कारोबारमा लाग्ने पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले वृद्धि भएको छ । यसअघि घरजग्गा कारोबारमा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेकोमा आजदेखि भने ७.५ प्रतिशत पुगेको छ ।

