आईतवार, श्रावण ३,२०८३ 08:41:02
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:41:02
Bizshala
Global IME Bank Limited

तीन महिनादेखि ‘लिन्याक’ मेसिन बन्द, क्यान्सरका बिरामी भारत धाउन बाध्य

तीन महिनादेखि ‘लिन्याक’ मेसिन बन्द, क्यान्सरका बिरामी भारत धाउन बाध्य
New Office

 

 काठमाण्डौ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन करिब तीन महिनादेखि बन्द हुँदा रेडियोथेरापी सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालमा सेवा सञ्चालन हुन नसकेपछि क्यान्सरका बिरामी उपचारका लागि भारतका विभिन्न सहर धाउन बाध्य भएका छन्।

रेडियोथेरापी सेवा अवरुद्ध हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ जनाभन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। मेसिन बन्द भएपछि उनीहरू भारतका बहराइच, लखनउ र दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका हुन्।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका बिरामीलाई सरकारीस्तरबाट क्यान्सर उपचार सेवा उपलब्ध गराउने प्रमुख स्वास्थ्य संस्था हो।

अस्पताल प्रशासनका अनुसार लिन्याक मेसिन मर्मत गर्ने प्राविधिक जनशक्ति अस्पतालसँग छैन। मेसिन आपूर्ति गर्ने कम्पनीले बाँकी भुक्तानी नपाएको भन्दै प्राविधिक पठाउन अस्वीकार गरेपछि सेवा पुनः सञ्चालन थप अन्योलमा परेको छ।

अस्पतालले खरिद सम्झौतामा उल्लेख गरिएको एचएस कोड र ‘कन्ट्री अफ ओरिजिन’ भन्दा फरक विवरण भएको मेसिन आपूर्ति गरिएको जनाएको छ। यही विवादका कारण आपूर्तिकर्ता कम्पनीको बाँकी भुक्तानी रोकिएको हो। भुक्तानी नपाएपछि कम्पनीले मेसिन मर्मतका लागि प्राविधिक नपठाएको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भराईले लिन्याक मेसिन पुनः सञ्चालन गर्ने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग छलफल भइरहेको बताए। समस्या समाधानका लागि मन्त्रालयमा पत्राचारसमेत गरिएको उनले जानकारी दिए।

मन्त्रालयबाट आवश्यक निर्णय भएपछि मेसिन पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उनले रेडियोथेरापी सेवा अवरुद्ध हुँदा बिरामीले भोग्नुपरेको समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको बताए।

अस्पतालका सूचना अधिकारी डा. प्रविण गुप्ताका अनुसार मेसिन मर्मतका लागि आवश्यक प्राविधिक पठाइदिन मन्त्रालयसँग आग्रह गरिएको छ। रेडियोलोजी विभागका लागि आवश्यक प्राविधिक जनशक्तिको समेत माग गरिएको उनले बताए।

“सकेसम्म छिटो मेसिन मर्मत गरी रेडियोथेरापी सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ,” उनले भने।

उक्त लिन्याक मेसिन २०७९ पुसमा अस्पतालमा ल्याइएको थियो। तर खरिद प्रक्रियासम्बन्धी विवादका कारण जडान भएको तीन महिनापछि मात्रै सञ्चालनमा आएको अस्पतालले जनाएको छ। तत्कालीन निर्देशक डा. प्रकाशप्रसाद साहले बाँकी भुक्तानी दिलाउने आश्वासन दिएपछि आपूर्तिकर्ताले प्राविधिक पठाएर मेसिन सञ्चालनमा ल्याएको थियो।

मन्त्रालयको आग्रहमा गठित छानबिन समितिले खरिद सम्झौता र भन्सार कागजातमा एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक परेको तथ्य स्वीकार गरेको थियो। समितिले मेसिनको गुणस्तर भने सञ्चालनपछि मात्रै मूल्याङ्कन गर्न सकिने उल्लेख गर्दै मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा मेसिन सञ्चालनमा ल्याइए पनि एचएस कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी विवादमा मन्त्रालयले ठोस निर्णय नगर्दा आपूर्तिकर्ताको बाँकी भुक्तानी रोकिएको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका अनुसार २७ करोड रुपैयाँभन्दा बढी मूल्यमा मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौता रकममध्ये ६० प्रतिशत भुक्तानी भइसकेको छ भने आठ लाख छ हजार अमेरिकी डलर अझै भुक्तानी गर्न बाँकी छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.