काठमाण्डौ । नेपालका ७२.६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको सरकारी प्रतिवेदनले देखाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रतिवेदनअनुसार देशभर ज्येष्ठ नागरिकको संख्या ३३ लाख ५५ हजार ८०८ पुगेको छ।
कुल ज्येष्ठ नागरिकमध्ये ६८.८ प्रतिशत स्वव्यवसाय वा कामदारका रूपमा संलग्न छन्। यस्तै, १३.४ प्रतिशत रोजगारीमा, ०.८ प्रतिशत रोजगारदाताका रूपमा र १७ प्रतिशत पारिवारिक सहयोगीका रूपमा सक्रिय रहेको प्रतिवेदनमा उल्लेख छ।
स्वव्यवसाय वा कामदारका रूपमा आर्थिक गतिविधिमा संलग्न ज्येष्ठ नागरिकमध्ये ७२.६ प्रतिशत कृषि क्षेत्रमा कार्यरत छन्। बाँकी २७ प्रतिशत गैरकृषि क्षेत्रमा सक्रिय रहेको तथ्यांकले देखाएको छ।

