काठमाण्डौ । निरन्तर वर्षाका कारण कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। आइतबार दिउँसो ४ बजेसम्म नदीमा पानीको बहाव २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएका छन्।
आइतबार बिहान ८ बजे नदीमा १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। दिउँसो ३ बजे बहाव बढेर १ लाख ९० हजार ३९० क्युसेक पुगेकोमा एक घण्टामै थप वृद्धि भएको हो।
पानीको बहाव खतराको तह नजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा राख्नुका साथै रातो बत्ती बालिएको छ।
स्थानीय प्रशासनले कोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा नदी किनारमा नजान आग्रह गरेको छ।

