काठमाण्डौ । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण आज आइतबार काठमाडौँ उपत्यकासहित ३५ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले ती जिल्लाका साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भन्दै नदी तटीय तथा डुबानको सम्भावना भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। विभागले आइतबार, जुलाई १९ का लागि जल तथा मौसमसम्बन्धी चेतावनी जारी रहेको जनाएको छ।
महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर र चितवनमा आकस्मिक बाढीको मध्यम जोखिम छ।
त्यसैगरी कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्रमा पनि जोखिम रहेको महाशाखाले जनाएको छ।
यी जिल्लाबाट बग्ने साना नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने, यात्रा गर्ने तथा नदीजन्य काममा संलग्न व्यक्तिलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विभागले बाढी तथा मौसमसम्बन्धी आकस्मिक जानकारीका लागि निःशुल्क टेलिफोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ।

